काेल्चेस्टर चुम्लुङले मनायाे कक्फेक्वा तङ्नाम, गायक ब्रबिमले सुनाए सुमधुर गीतहरू

१९ जनवरी, काेल्चेस्टर । याक्थुङ समुदायको महान् पर्व कक्फेक्वा तङ्नामका अवसरमा किरात याक्थुङ चुम्लुङ यूकेकाे काेल्चेस्टर शाखाले भव्य कार्यक्रम सम्पन्न गरेको छ । साँस्कृतिक कला र नृत्य प्रस्तुतिसँगै काेल्चेस्टर चुम्लुङले कक्फेक्वा तङ्नाम मनाएकाे हाे ।

जनवरी १५ तारिख आइतबारका दिन भएको कार्यक्रम शाखा अध्यक्ष देउमान माङ्देनकाे सभापतित्वमा भएको थियोे । कार्यक्रमका प्रमुख अतिथि कियाचु यूकेका महासचिव जुरेन्द्र खजुम रहेका थिए । अन्य अतिथिहरूमा ज्येष्ठ नागरिक नहरसिङ लिम्बु, कियाचु यूके सहसचिव सानुु सुब्बा, केन्द्रीय सदस्य डम्बर लिम्बू, सल्लाहकार एवम् निवर्तमान अध्यक्ष भीम नेयाेङ, सल्लाहकार घन खजुम, गायक ब्रबिम शेर्मा, युमा साम्याे महासभा यूके काेषाध्यक्ष जय मादेम्बा लगायत थिए ।

करिब डेढ सयकाे सङ्ख्यामा उपस्थित भएका सहभागीहरू आफ्नो साँस्कृतिक पहिरनमा आएका थिए । जसमध्ये तीन वर्षदेखि ९० वर्षसम्म रहेका थिए ।

कार्यक्रममा विभिन्न शैक्षिक तहमा प्रगति गर्नेहरूमध्ये जीसीएससी उत्तीर्ण विद्यार्थीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको अध्यक्ष माङ्देनले जनाए । उपस्थितहरूमध्ये एक जना महिला र एक जना पुरुषलाई उत्कृष्ट पहिरन लगाएबावत् पुरस्कृत गरिएको थियोे । जसमध्ये महिलातर्फ बिहानी लिम्बु र पुरुषतर्फ विक्रम लिम्बु रहेका थिए । पुरस्कारहरूकाे प्रायाेजन डा. साेनिया लिम्बु र बुद्धरानी लिम्बुले गरेका थिए ।

साे अवसरमा कक्फेक्वा तङ्नामबारे तुत्तु तुम्याहाङ देवेन्द्र लिम्बुले कुरा राखेका थिए । त्यस्तै, माया ओख्रावु र बुद्धरानी लिम्बुले पा:लाम(धान नाच्दा गाइने गीत) सुनाए । प्रमुख अतिथि चुम्लुङ महासचिव जुरेन्द्र खजुमले प्रवासमा रहेर पनि सँस्कृति, भाषा र भेषभूषाकाे जगेर्नामा चुम्लुङले महत्त्वपूर्ण भूमिका खेलेको जनाए । कार्यक्रमकाे उदघाटन प्रमुख अतिथिले पानसमा दीप प्रज्ज्वलन गरेर गरेका थिए । केलाङा कलाकारहरूले साथ दिएका थिए ।

यस‌ैगरी, लाेकप्रिय कलाकार ब्रबिम शेर्माले आफ्ना कर्णप्रिय गीतहरू सुनाए । साङ्गीतिक भ्रमणका क्रममा बेलायतका विभिन्न सहरहरू पुग्ने क्रममा गायक शेर्माले काेल्चेस्टरमा रहेका याक्थुङ समुदायलाई आफ्ना मातृभाषा याक्थुङ भाषामा गीतहरू गाएर भरपूर मनाेरञ्जन दिलाए । उनले केही खस नेपाली गीतहरू समेत गाए ।

कार्यक्रममा माैलिक जातीय खाद्य तथा पेय परिकारहरू याङ्बेन, पेनागाेले, चाम्रे, सार्ग्याङ्मा, तङ्वा, तीनपाने रक्सी, वम्युक्, पेरुङ्गाेमा राखिएको सेल, फाँदाेकाे अचार, तरुल, सिस्नुलगायत प्रदर्शनीमा राखिएका थिए । काेल्चेस्टरमा सालिन्दा कक्फेक्वा तङ्नाम र कुसङ तङ्वे(नयाँ वर्ष)काे उपलक्ष्यमा भव्य कार्यक्रम गरिँदै आएको चुम्लुङ यूके सहसचिव सानु सुब्बाले बताइन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *