१५ अगष्ट, काठमाडौं । याक्थुङ लिम्बु जातिको मौलिक सिरिजङ्गा लिपिलाई सरकारी मान्यता दिई यसको संरक्षण गर्न माग गरिएको छ। सिरिजङ्गा लिपिलाई राष्ट्रिय गौरवको रूपमा स्थापित गर्नुपर्ने बताउँदै यसलाई मान्यता दिएर इतिहासको सम्मान गर्न आग्रह गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र दिंदै सिरिजङ्गा लिपिलाई आधिकारिक रूपमा मान्यता दिन माग गरिएको हो । तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँग भेट गरी ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा नेपाल सरकारको अभिलेखालयमा सिरिजङ्गा लिपि सूचिकृत गराउन माग गरिएको छ।
मेयर माबोहाङले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको सिरिजङ्गा लिपि नेपाल सरकारको अभिलेखालयमा आधिकारिक रूपमा सूचीकृत गर्न मन्त्री पाण्डेसँग माग गरेका छन् ।

शुक्रबार मन्त्रालयलाई बुझाइएको पत्रमा उनले अठारौँ शताब्दीमा ताप्लेजुङको तेल्लोकमा जन्मिएका याक्थुङ लिम्बू जातिका ज्ञानसाधक सिरिजङ्गा सिङ थेबेले तयार पारेको वर्णमालालाई ‘सिरिजङ्गा लिपि’का नाममा सूचीकृत गर्न आग्रह गरेका हुन्। सिरिजङ्गाले तयार गरेको लिपि याक्थुङ लिम्बू भाषा, मुन्धुम, इतिहास, मानवशास्त्र र सामाजिक संरचनासम्बन्धी लेखोटहरूमा प्रयोग भएको र तत्कालीन समयमा तमोर खोला, फावाखोला, सिनाम, तेल्लोकदेखि सिक्किमसम्म व्यवहारिक र लेख्य रूपमा प्रचलित रहेको उनले स्मरण गराएका छन् ।

पत्रमा सिरिजङ्गाको योगदानको विस्तृत ऐतिहासिक विवरण उल्लेख गर्दै पञ्चायतकालमा उक्त लिपिलाई ‘किराँत लिपि’ भनेर उल्लेख गरिएको भए पनि मौलिक नाम सिरिजङ्गा लिपि नै रहेको स्पष्ट गरिएको छ। उनले यस सम्बन्धमा ब्रिटिश लाइब्रेरीमा रहेका प्राचीन पाण्डुलिपीदेखि इमानसिं चेम्जोङ र हेमराज शाक्यका कृतिहरूमा लिपि सम्बन्धी अभिलेखहरूको प्रमाण प्रस्तुत गरेका छन् ।
मेयर माबोहाङले सिरिजङ्गा र उनका चेलाहरूले लेखेका लेखोटहरूको संकलन, संरक्षण र प्रचारप्रसारमार्फत याक्थुङ लिम्बू जातिको गौरवमय इतिहासलाई उजागर गर्नुपर्नेमा जोड दिएका छन्। यसै उद्देश्यका लागि लालीगुराँस नगरपालिका–४ स्थित युमा संग्रहालय परिसरमा ‘सिरिजङ्गा पाण्डुलिपि ज्ञानालय’ निर्माणको योजना अघि बढाइरहेको जानकारी समेत दिएका छन् ।
पत्रसँगै उनले १० बुँदे प्रमाणिक कागजातहरू समेत पेश गरेका छन्, जसमा ऐतिहासिक शिलापत्र, प्राचीन लेखोटहरू, पुस्तक अंश तथा सरकारी पत्राचारका प्रतिहरू समावेश छन् ।
ज्ञापनपत्रमा भनिएको छ–
माननीय मन्त्रीज्यूनेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, सिंहदरबार, काठमाण्डौ ।
विषयः सिरिजङ्गा लिपि सूचीकृत गरी दिनु हुन ।
प्रस्तुत विषयमा अठारौं शताब्दीताका याक्थुङ लिम्बू जातिको सिङ थेबे परिवारमा अठारौ शताब्दीताका हाल ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा सिरिजङ्गा सिङ थेबेको जन्म भएको थियो । उनले याक्थुङ लिम्बू लिपिको वर्णमालाहरू तयार गरेका थिए । उनले बनाएको वर्णमालालाई सिरिजङ्गा लिपि भनिन्छ । उनले याक्थुङ लिम्बू भाषामा लेखेका लेखोटहरूमा याक्थुङ लिम्बू जातिको मुन्धुम (अध्यात्मिक ज्ञान) र उपदेश भेटिन्छन् ।
उनको लेखोटहरूमा उतिबेलाको याक्थुङ लिम्बूहरूको मानवशास्त्र, इतिहास र सामाजिक व्यवस्थाको बारेमा चर्चा गरेको पाइन्छ । उनले लेखेका लेखोटहरू नेपालका लागि ब्रिटिश भारतकालिन रेजिडेन्स ( राजदुत ) ब्रायन हग्टन हज्शनले काठमाडौं र दार्जिलिङमा रहँदा (सन् १८२३-१८४७) संकलन गरी कलकत्तामा छोडेका थिए । ब्रिटिशले भारत छोडेका बखत् उक्त संकलनलाई लण्डन पुर्याइयो र ब्रिटिश लाईब्रेरीमा राखियो ।
हाल सिरिजङ्गा र उनका चेलाहरूले लेखेका लेखोटहरू थप पाईएका छन् । उनलाई याक्थुङ लिम्बूको भाषा, लिपि चलाएको अभियोगमा सिक्किमका लामाहरूले हत्या गरेका थिए । याक्थुङ लिम्बू जातिको भाषा, लिपि बनाएको र चलाएको उनको योगदानको कदर गर्दै नेपाल सरकारले वि.सं २०४९ मा उनको तस्विर अंकित टिकट चलायो ।
सिरिजङ्गाले लेखेका लेखोटहरूमा वर्णमालाहरूको अभ्यास गरेको र “याक्थुङ साप्ला लत्तुङलो” भनेर अथवा “याक्थुङ भाषा लिपि लेखिएको कागज निकाले है” भनेर लेखिएको लेखोटहरू प्रशस्त पाइन्छन्। उनले लेखेका आफ्ना लेखोटहरूमा हिन्दू देवता महादेव र बुद्धिष्ट गुरु पद्मसम्भम अथवा उगेनपोमालाई पनि साक्षी राखिएका छन् । उनले चलाएको लिपि नेपालको ताप्लेजुङ जिल्लाका तमोरखोला, फावाखोला, सिनाम, तेल्लोकदेखि सिक्किमसम्म व्यवहारिक र लेख्य रुपमानै प्रचलनमा आएको थियो।उनका चेलाहरूले सिरिजङ्गाका बारेमा लेखेका लेखोटहरूमा सिरिजङ्गाले सपनामा पातमा मुन्धुमी कागज देखेको र ब्युझने बितिक्कै भाषा, लिपि लेख्न थालेको तर उक्त लेखोटहरू लामाहरूले देखेपछि भोटेको देशमा विद्रोह हुन्छ भनी उनको हत्या गरिएको चर्चा छ ।
सन् १९२५ मा कालेबुङको डोङ्ग्रा बस्तीमा उतिबेलाका प्रबुद्ध लिम्बूहरूको भेलाले मैतसिङ थेगिमको अध्यक्षतामा इतिहासकार इमानसिं चेम्जोङको उपस्थितिमा सिरिजङ्गाले चलाएको लिपिलाई सिरिजङ्गा लिपि भनेर नामाकरण गर्ने सहमति भए बमोजिम सिरिजङ्गा लिपि लेख्ने, पढ्ने, प्रचार गर्ने परम्परा सिक्किम, दार्जिलिङ र नेपालभरी बस्यो । विशेषगरी सत्यहाङमा (हिन्दू जोसमनी पन्थी लिम्बूहरू) हरूले सिरिजङ्गा लिपिको प्रचलन कायम राखी रहे ।
पञ्चायतकालमा श्री ५ को सरकार शिक्षा मन्त्रालय, पुरातत्व विभाग, राष्ट्रिय इतिहास अनुसन्धान शाखाको अभिलेख उपशाखाले प्रस्तुत गरेको लिपि विकास तालिकामा सिरिजङ्गाले तयार गरेको वर्णमालालाई लिएर “किरात लिपि” भनेर नामाकरण गरिएको रहेछ । यसरी पुरातत्व विभागले सिरिजङ्गा लिपिलाई “किरात लिपि” भनेर छाप्नको आधार चाहि वि.सं २०१३ सालमा धनकुटा चौबिसेका प्रेमबहादुर माबोहाङले ललितपुरको महालक्ष्मीस्थान स्थित तिखेदेवलमा उमा महेशको मन्दिरलाई जिर्णोद्वार गर्न मोरङ जाँतेको तीली खेतको गुठी चढाउँदा लेखिने शिलापत्रको भाषामा सिरिजङगा लिपि प्रयोग गरेका रहेछन ।
यही वि.सं. २०१३ को माहालक्ष्मीस्थान तिखेदेवलको शिलापत्रलाई छापेर वि.सं. २०८० ( पहिलो वि.सं. २०३०) सालमा हेमराज शाक्यले “नेपाल लिपि विकास” भन्ने आफ्नो पुस्तकको पृष्ठ १०० – १०१ मा उक्त शिलापत्र र सिरिजङ्गाको वर्णमाला छापेर ब्राह्मी लिपि, पूर्व लिच्छवि, उत्तर लिच्छवि लिपि भन्दै किराँत (चन्द्र पुलिङ) लिपि भनेर छापेका छन्। शाक्यले पनि “किराँत लिपि” भनेर छाप्नमा चेम्जोङले गरेको सिरिजङ्गा लिपिको चर्चालाई नै आधार मानेका छन् ।
हेमराज शाक्यले आफ्नो पुस्तकमा “किराँत लिपि” भनेर छाप्नमा प्रचलनमा ल्याइएको सिरिजङ्गा लिपिलाई कतै सिरिजङ्गा लिपि र कतै किराँत लिपि भनेर विशेष गरी इमानसिं चेम्जोङले नै लेखेका पुस्तकहरूलाई आधार मानेका हुन् । चेम्जोङले लेखेका पुस्तकहरूमा “याक्थुङ्बा” शब्दलाई नेपालीमा उल्था गर्दा “किराँत” लेखेको प्रष्टिन्छ । अथवा चेम्जोङले याक्थुङ्वा लिम्बूलाई “किराती” भनेको तर, याक्थुङबाहरूको लिपिलाई सिरिजङ्गा लिपि नै भनेको र लेखेको पुष्टि हुन्छ।
वास्तवमा इमानसिं चेम्जोङले याक्थुङ लिम्बूहरूका लागि प्रयोग गरेको “किराँत” शब्दले संसारको सभ्यतादेखि हिमवतखण्ड जोडेपछि पनि लिम्बू याक्थुङ लिम्बू वंशको चर्चा गर्न पालो पाइन्न । इमानसिं चेम्जोङले लिम्बूहरूका लागि “किराँती” भनेर संसारका प्राचीन सभ्यतासँग जोडेर लिम्बूहरूलाई संसारकै सभ्य जातसँग तुलना गर्ने उनको अभियानले आज लिम्बूहरूको इतिहास र संस्कारलाई उठान र बैठान बेगर बनाएको छ ।
चेम्जोङको कृतिहरूको संशोधन नभएसम्म उनको आत्माले मुक्ति पनि पाउँदैन। वास्तवमा “किराँत” शब्द आज आर्यहरूले आफूभन्दा बेगल जीवनशैली बोकेका समुदायहरूलाई लगाउने नाममा सिमित भएको छ । वास्तवमा “किराँत” आज राज्यकै परिभाषामा न भाषा हो, न जाति हो ।
नेपालको संविधानको अनुसूची ८ मा व्यवस्था भएको स्थानीय तहको एकल अधिकार सूचीभित्रको सि.नं. २२ मा उल्लिखित भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास अधिकार क्षेत्रलाई व्यापकरुपमा व्याख्या सहित उल्लेख भएको संघीय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (फ) मा भएको व्यवस्था समेतलाई मध्यनजर गर्दै यत्रो इतिहास बोकेका ज्ञानका साधक सिरिजङ्गाले बनाएको लिपिलाई नेपाल सरकारको अभिलेखालयमा सिरिजङ्गा लिपिका नामममा सूचीकृत गरी दिनुहुन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै सादर अनुरोध गर्दछु ।
सिरिजङ्गा र उनका चेलाहरूले लेखेका लेखोटहरूलाई संकलन गरी प्रचारप्रसार गर्ने र याक्थुङ लिम्बू जातिको गौरवमय इतिहासलाई उजागर गरी राष्ट्रियता बलियो बनाउने उद्देश्यका साथ लालीगुराँस नगरपालिकाको चो?लुङ पार्क स्थित युमा संग्रहालय परिसरमा सिरिजङ्गा पाण्डुलिपि ज्ञानालय निर्माण गर्न लागेको माननीय मन्त्रीज्यूलाई सहर्ष अवगत गराउन चाहन्छु ।
मन्त्रालयमा बुझाईएको सिरिजङ्गा लिपिलाई सूचिकृत गर्न बुझाईएका प्रमाणिक कागजपत्रहरु-
१) देवानागरी भाषामा सिरिजङ्गा सिङ थेबेले याक्थुङ अक्षर सिकाएको भन्ने कागज ।
२) याक्थुङ लिम्बू भाषामा सिरिजङगा थेबे आकाश धर्तीका सन्तान हुन भन्ने कागज ।
३) सिरिजङ्गाले बाह्रखरी अभ्यास गरेको लेखोट । लेखोटमा सिरिजङ्गाले “याकथुङ साप्ला’ अथवा याक्थुङ लिम्बू लिपि बनाएको लेखिएको। लेखोटमा सिरिजङ्गाले लिपि बनाउँदा हिन्दू देवता माहादेव र बुद्धिष्ट गुरु पद्मसम्भवलाई साक्षी राखेको लेखोट ।
४) ताप्लेजुङको फावाखोला क्षेत्रमा याक्थुङ लिम्बू भाषा र सिरिजङ्गा लिपिमा लेखिएको लेखदेन सम्बन्धी लेखोटहरू | ५) सन् १९२५ (वि.सं १९८२) मा इतिहासकार इमानसिं चेम्जोङको उपस्थितिमा र मैतसिं थेगिमको अध्यक्षतामा कालेम्बुङको डोङ्ग्रा बस्तीमा सहिद सिरिजङ्गाले चलाएको लिपिलाई सिरिजङ्गा लिपि लेखिनु पर्ने निर्णय भएको इमानसिं चेम्जोङको वि.सं २०३० मा प्रकाशनमा आएको पुस्तक किराँत साहित्यको इतिहास कभर र पृष्ठ १६ का स्कयान कपिहरू ।
६) वि.सं २०१३ सालमा धनकुटा चौबिसका प्रेमबहादुर माबोहाङले ललितपुरको महालक्ष्मीस्थान स्थित तिखेदेवलमा उमा महेशको मन्दिरलाई जिर्णोद्वार गर्न मोरङ जाँतेको तीली खेतको गुठी चढाउँदा याक्थुङ लिम्बू भाषा र सिरिजङ्गा लिपिको शिलापत्र ।
७) पञ्चायतकालमा श्री ५ को सरकार शिक्षा मन्त्रालय, पुरातत्व विभाग, राष्ट्रिय इतिहास अनुसन्धान शाखाको अभिलेख उपशाखाले प्रस्तुत गरेको लिपि विकास तालिकामा सिरिजङ्गाले तयार गरेको वर्णमालालाई लिएर “किराँत लिपि” भनेर नामाकरण गरिएको प्रति ।
८) वि.सं. २०८० (पहिलो वि.सं. २०३०) सालमा हेमराज शाक्यले “नेपाल लिपि विकास” भन्ने आफ्नो पुस्तकको पृष्ठ १००-१०१ मा उक्त शिलापत्र र सिरिजङ्गाको वर्णमाला छापेर ब्राह्मी लिपि, पूर्व लिच्छवि, उत्तर लिच्छवि लिपि भन्दै किरात (चन्द्र पुलिङ) लिपि भनेर छापेका प्रतिहरू ।
९) मिति २०८२ । ०२ । ११ मा नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको राष्ट्रिय अभिलेखालयबाट शिक्षा तथा प्रविधि मन्त्रालयमा चलानी भएको पत्रमा “किराँत लिपि’ लेखिएको प्रति ।
१०) ललितपुरको महालक्ष्मीस्थान स्थित प्रेमबहादुर माबोहाङले याक्थुङ लिम्बू भाषा र खस नेपाली भाषामा सिरिजङ्गा लिपि र देवानागरी भाषामा बनाएको शिलापत्रको बारेमा प्राज्ञ अमर तुम्याङज्यूको लेख प्रति ।
-अर्जुन माबोहाङ
प्रमुख, लालीगुराँस नगरपालिका, तेह्रथुम