गायक ब्रबिम शेर्माले तताए आसफोर्ड

९ जनवरी, केन्ट । आफ्नो साङ्गीतिक भ्रमणका क्रममा बेलायतमा रहेका चर्चित गायक ब्रबिम शेर्माले केन्टको आसफोर्डमा कन्सर्ट सम्पन्न गरेका छन् । आफ्ना लोकप्रिय गीतहरूमा दर्शकहरू नचाउँदै शेर्माले आसफोर्डवासी नेपालीहरूलाई लोक सङ्गीतको तालमा झुमाए ।

जनवरी ८ तारिख आइतबार बिहीबारे हलमा भएको कार्यक्रममा ‘मुन्धुमी गायक’को उपाधि पाएका शेर्माले दर्जन बढी गीतहरू प्रस्तुत गरे । कक्रोज ग्रुप आसफोर्डले आयोजना गरेको कार्यक्रम बेलुकी ६ बजेदेखि सुरु भएको थियो । ‘मेन्निमाङ मेन्धामाङ’ माङसाम्लो युमाहेनासाम्लो(उपासना)बाट गाउन प्रारम्भ गरेका गायक शेर्माले ‘नुरिक्काङ वये मिम्जिमे’, ‘लुङमाओ याङ्घेक’, ‘चल्लक चल्लक’, ‘नाराङ्स्याङलो हुर्लै पक्कन्दे’, ‘लुखुरी लुखुरी’, ‘हिल्लिङ्हिल्लिङ’ गाए । उपस्थित दर्शक र श्रोताहरू तातिन्दै गएपछि उनले गीतको ट्याम्पो पनि बढाउँदै लगे । ‘सुन्ने गीत सुनाउनेछु सुरुमा अनि बिस्तारै नाच्ने गीत आउँछ है,’ गत अक्टोबर बेलायत टेकेका गायकले भन्दै थिए ।

गीत प्रस्तुत गर्दै गायक शेर्मा ।

ताराप्’ एल्बमा समाविष्ट भएको र करिब १३ लाख पटक युट्युबमा हेरिएको लोकप्रिय गीत ‘पनुनुमा तरेमेन्’ गाएपछि कुर्सी छाडेर सबै मञ्चमा हानिए । संगीतकार बीसी राईले गायकलाई प्रविधिमा राम्रै साथ दिइरहेका थिए । त्यसपछि, उनले याक्थुङ भाषामा मात्रै होइन मदन पुरस्कार विजेता आख्यानकार राजन मुकारुङको शब्दमा रहेको ‘ज्यानै हाजिर भो’ गीत सुनाए । उनैले लेखेको अर्को गीत ‘सेवारो सेवारो’ पनि थपे । त्यसपछि, ‘सिकपसम तरेमाहा?’ गाए । यसबोक स्वरुपराज आचार्यको चर्चित गीत ‘डाँडाघरे साइँली’ र पुराना गायिक रेखा शाहको क्लासिक गीत ‘सिमसिमे पानीमा’ गाएर तीन घण्टे कार्यक्रमलाई बिट मारे ।

बेनकुमार आसामीको सभापतित्वमा भएको कार्यक्रमलाई साँस्कृतिक अभियन्ता ज्ञानु फुरुम्वो चरप्पेले सञ्चालन गरेका थिए । उनलाई गायिक माक्सती ओख्रावु र निराजन माबोहाङले समेत साथ दिए । ओख्रावुले गायक खगेन्द्र यक्सो र मनु नेम्वाङको स्वरमा रहेको गीत ‘खोरङ्वा खोला’ सुनाइन् । त्यस्तै, चन्द्रा थलङ र राजेन्द्र नेम्वाङ ‘बी’ले पाःलाम भने ।

गीतमा नाच्दै दर्शकहरू ।

सगरमाथा गोरखा नेपाली समाजका वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले स्वागत गर्दैै नेपाली कला, सङगीत र सँस्कृतिलाई माया गर्न आफूहरू सधैँ तत्पर रहेको बताए । कार्यक्रममा कियाचुका केन्द्रीय सदस्य टङ्क येङ्देन, निवर्तमान सचिव एवम् पत्रकार विश्वासदीप तिगेला, आसफोर्ड शाखा अध्यक्ष सोदीप थोप्रा, लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष छत्र वनेम, याक्थुङ कुस्सा चुम्लुङका यूकेका संयोजक लाहाङ चेम्जोङ, लिम्बु पत्रकार सङ्घ यूकेका अध्यक्ष अमित थेवे, किरात धर्म तथा साहित्य उत्थान सङ्घ यूके उपाध्यक्ष राजेन्द्र खिम्दिङ, काप्पोबा केलाङ ग्रुप फोक्सटोन, हाम्रो नेपाली भलिबलका काजीमान फेम्बू, गीतकार नेम खापुङ, थामेन्दिङ्मा महिला समितिकी शुभ नेम्वाङ लगायत उपस्थित थिए ।

सवा एक सय बढी गीतहरू रेकर्ड गराइसकेका गायक शेर्माका आधा दर्जन एल्बमहरू निस्किएका छन् । उनको आगामी जनवरी १५ मा कोल्चेस्टर, २८ मा डनकास्टरमा र फेब्रुअरी ४ मा ग्रेजमा प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *