प्रथम सहिद लखन थापा मगरकाे तस्वीर लन्डनको दूतावासमा

१४ फेब्रुअरी, लन्डन । लन्डनस्थित बेलायतका लागि नेपाली दुताबासमा नेपालका प्रथम शहीद लखन थापामगरको तस्वीर राखिएको छ । थापामगरको १४६ औँ स्मृति दिवसको अवसर पारेर मंगलबार सो तस्वीर राखिएको हो ।

बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र मगर संघ बेलायतका अध्यक्ष सीता पुनले संयुक्त रुपमा सो तस्वीर राखेका थिए ।

दूतावासमा राखिएको सहिद लखन थापा मगरकाे तस्वीरलाई हेर्दै नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पा र महासचिव विमला सेने (दायाँ) ।

दुतावासद्वारा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै राजदुत आचार्यले हरेक देशको आफ्नै इतिहास हुने भन्दै अधिनायकवादका विरुद्धमा लखन थापामगरले गरेको विद्रोह प्रेरणादायी भएको बताए । लखन थापामगर लगायत शहीदहरुले देशका लागि दिएको योगदानको सो अवसरमा राजदुत आचार्यले स्मरण गरे ।

प्रथम सहिद लखन थापा मगर ।

दुताबासको रिसेप्सन हलमा राखिएको थापाको तस्वीरले उहाँको बारेमा जान्न बुझ्न चाहनेहरुलाई मौका दिने भन्दै आचार्यले दुताबासमा तस्वीर राख्न पाउँदा खुशी लागेको जनाए । महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाले लखन थापालाई प्रथम शहीद घोषणा गराउनका लागि धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै बेलायतस्थित नेपालीहरुको साझा घर नेपाली दुताबासमा उनको तस्वीर राख्न सन् २०१६ देखि नै पहल गर्दै आएको जानकारी दिए । नेपाली दुतावासले प्रथम शहीदको तस्वीर राखेर उदाहरणीय कार्य गरेको भन्दै उनले आगामी दिनमा शहीद दिवसमा अरु शहीदहरुसँगै लखन थापाको पनि नाम लिइने विश्वास व्यक्त गरे ।

मगर संघ युकेका अध्यक्ष सीता पुनले दुतावासमा लखन थापामगरको तस्वीर राख्न गरिएको अनुरोध स्वीकार गरिदिएकोमा दुतावास परिवारमा धन्यवाद दिइन् ।

छोटो कार्यक्रमको सञ्चालन दुताबासका उपनियोग प्रमुख रोशन खनालले गर्नुभएको थियो भने तस्वीर राख्नुअघि लखन थापामगरको फोटोमा पुष्पगुच्छा तथा खादा अर्पण गरी मौनधारण गरिएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *