विश्वव्यापी गजल प्रतियोगिता हुँदै

लन्डन, ६ जनवरी । नेपाली साहित्यमा कविता विधापछि सर्वाधिक लेखिने र पढिने विधा मध्ये गजल पनि हाे । काव्यिक विधानिकट मानिने गजल फारसीहरूले सुरुवात गरेतापनि नेपालमा यसको लाेकप्रियता ठूलो छ । गजलप्रेमीहरूकै लागि भनेर विश्वव्यापी गजल प्रतियोगिता हुने भएको छ ।

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिकाे आयाेजनामा विश्वव्यापी खुल्ला गजल प्रतियोगिता हुन गइरहेको  अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’ ले बताए । उनले न्यूनतम पाँच शेरदेखि अधिकतम सात शेरसम्म रहने गरी अप्रकाशित वा कतै प्रसारण या वाचन नभएको गजल पठाउनुपर्ने बताए । प्रतियाेगीहरूले दिइएको इमेल ठेगानामाहरूमा आगामी फेब्रुअरी १५ तारिखभित्र रचना पठाउनुपर्ने छ । विनेसामले यसअघि विश्वव्यापी कविता, मुक्तक र लघुकथा प्रतियोगिताहरू आयाेजना गरिसकेको छ ।

गत अक्टोबर २८ तारिख शुक्रबारका दिन बसेकाे विनेसाम केन्द्रीय समितिकाे नियमित बैठकले यस वर्ष विश्वव्यापी गजल प्रतियोगिता आयाेजना गर्न लागेको महासचिव सुनिता राई कन्दङ्वाले बताए ।

यसैगरी, महासङघले बालबालिकाहरूलाई लक्षित गरी नेपाली पाठ्यक्रम तयार पार्न समेत सक्रिय हुने भएको छ । विशेषगरी प्रवासका बालबालिकाहरूका लागि सम्भावित पाठ्यक्रम निर्माण गर्न एक टिम समेत बनाइएको महासचिव सुनिता राई कन्दङ्वाले जनाइन् । उक्त टिमले अगाडी के कसरी बढ्ने भन्ने सन्दर्भमा छलफल, सरसल्लाह गरेर कार्य-योजना तय गर्ने छ I त्यसपछि, सम्बन्धित विज्ञहरूसँग पनि सम्पर्क गरी सुझाव लिने छ ।

टिममा सल्लाहकारहरू प्रा डा भीम खतिवडा, डा. घनश्याम परिश्रमी, अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी, वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्ले, उपाध्यक्ष – डेन्जोम साम्पाङ् राई, महासचिव सुनिता राई कन्दङ्वा, सचिव डा. मनमूर्ति भुर्तेल र सदस्य नवराज न्यौपाने छन् ।

प्रत्येक महिनाकाे अन्तिम साता बस्ने बैठकमा प्राडा भीम खतिवडा (धरान/नेपाल), अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी (भारत), वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्ले (ताइवान), उपाध्यक्ष गोविन्दप्रसाद गौतम (मस्को/रसिया), महासचिव सुनिता राई कन्दङ्वा (इजरायल), सचिव डा. मनमुर्ति भुर्तेल (मस्को/रसिया), कोषाध्यक्ष केबी पौडेल (काठमाण्डौ) काे उपस्थिति रहेको थियो । त्यस्तै, सदस्यहरूमध्ये कल्पना पौडेल जिज्ञासु (नेपाल), पूर्णिमा जी शाह (हङकङ), नवराज न्यौपाने (नेदरल्याण्ड), कपिल अधिकारी (ताइवान), राहुल राई बोगिको (मणिपुर/भारत), कृष्ण प्र गौतम (इटहरी/नेपाल), देविका मंग्राती राई (सिलगुडी), लाल सुन्दर राई (बेलायत), अमित थेबे (बेलायत), रीतादेवी प्रधान (अमेरिका) काे सहभागिता रहेको थियो ।

विश्व नेपाली महासङ्घकाे २५ राष्ट्रिय शाखाहरू, १३ उपशाखाहरू र एक केन्द्रीय समिति रही ३९ समितिहरू रहेका छन् । महासङ्घकाे स्थापना सन् २०१० जुलाई १३ मा भएको हाे ।

◾️विश्वव्यापी खुल्ला नेपाली गजल प्रतियोगिता २०२३ का लागि नियमहरू :-

१- प्रतियोगितामा प्रेषित गजल नेपाली भाषा र देवनागरी लिपिमा लेखिएको हुनुपर्नेछ ।

२- गजल कम्तीमा पाँच र बढीमा सात सेरमा रचिएको हुनुपर्नेछ ।

३- प्रतियोगितामा प्रेषित गजलमा तखल्लुस (गजलकारकाे छाेटाे नाम/उपनाम) प्रयाेग गर्न पाइने छैन ।

४- कुनै ओ‌ैपचारिक कार्यक्रममा वाचन गरिएको, समाजिक सञ्जाल वा पत्रपत्रिकामा प्रकाशित भएको गजल प्रतियोगितामा पेस गर्न पाइने छैन । साथै प्रतियोगीतामा प्रेषित गरिएको गजल नतिजा सार्वजनिक नभएसम्म कहीँ कतै अेाेपचारिक कार्यक्रममा वाचन गर्न र सामाजिक सञ्जाल वा पत्रपत्रिकामा प्रकाशित गर्न पाइने छैन । यस्तो गरेको पाइएमा त्यो गजल अमान्य हुनेछ ।

५- गजलकाे सिद्धान्तलाई अवलम्बन गरेर रचिएको गजलकाे मात्र मूल्याङ्कन हुनेछ ।

६- गजल  फेब्रुअरी १५ तारिख २०२३ भित्र सम्बन्धित ठेगानामा पुग्ने गरी।पठाउन समयसीमा ताेकिएकाे छ । तल ताेकिएकाे ईमेल वा ठेगानामा आइपुग्ने गरी गजल पठाउनुहाेला ।  म्याद नाघी आएका गजलहरू प्रतियोगितामा समावेश गरिने छैनन् ।

७- प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने गजलका स्रष्टालाई प्रमाणपत्रसहित निम्नानुसारकाे नगद पुरस्कार प्रदान गरिनेछ
– प्रथम पुरस्कार : रु, २५०००/ (पच्चीस हजार)/प्रमाणपत्र ।
– द्वितीय पुरस्कार : रु, २०,०००/ (बीस हजार)/प्रमाणपत्र ।
– तृतीय पुरस्कार : रु, १५०००/ (पन्ध्र हजार)/प्रमाणपत्र ।
– सान्त्वना पुरस्कार : रु, १०/१० हजार र प्रमाणपत्र २ जनालाई दिइने छ ।

८ – गजलका स्रष्टाले आफ्नो स्पष्ट ठेगाना र  ल्यान्डलाइन फाेन वा माेबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

९ – प्रतियोगिताका लागि प्राप्त गजलहरूकाे मूल्याङ्कन हेतु विज्ञहरूको मूल्याङ्कन समिति गठन गरिनेछ ।

१० – प्रतियोगिताका लागि प्राप्त गजलहरू मूल्याङ्कनका लागि पठाउँदा गजलकारकाे नाम, ठेगाना हटाई काेड नं. कायम गरिनेछ ।

११ – गजल प्रतियोगितामा प्रेषित  उत्कृष्ट गजलहरू प्रकाशित गरिने छन् ।

१२ – महासङ्घ केन्द्रीय समतिका पदाधिकारीहरूले चाहिं भाग लिन पाइने छैन ।

_ गजल पठाउने इमेल ठेगाना:
gfnlcentral@gmail.com
sahityan48@gmail.com
(नोट: कसैलाई गजल इमेल गर्न/पठाउन यदि असुविधा भए विनेसाममा आबद्ध पदाधिकारीहरूलाई इनबक्स गर्न सक्नुहुनेछ) ।

आयोजक,
विश्व नेपाली साहित्य महासङ्घ
विश्व केन्द्रीय समिति ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *