नेपाल प्रज्ञा–प्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा सम्पन्न

१३ डिसेम्बर, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा आइतवार सम्पन्न भएको छ । प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको सभाध्यक्षतामा प्राज्ञ सभा सम्पन्न गरेका हुन् ।

३८ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो कार्यकालमा सहयोग र सहकार्य गर्ने सबैलाई आभार व्यक्त गरे । गर्नुपर्ने कामको दायित्व सम्बन्धित विभागको हुने भए पनि सबै विभाग, कुलपति र उपकुलपतिसहितको सहकार्य र छलफलबाट काम गर्ने राम्रो संस्कार बसेको उनले बताए । छोटो समयमा महत्वपूर्ण कृति प्रकाशन गरेर सार्वजनिक गर्न सकेकोमा निमित्त कुलपति, निमित्त सदस्यसचिवसहित प्राज्ञ परिषद्लाई उनले बधाई दिए । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् र सभाका सदस्यहरू, कर्मचारीहरू तथा सहयोगीहरूको सहकार्यमा आफ्नो नेतृत्वको टिमले काम गर्न सकेको उनकोे भनाइ थियो ।

नयाँ सरकार बनेसँगै प्रज्ञा–प्रतिष्ठानको मर्म नखलबलिने गरी नयाँ प्राज्ञ सभा र परिषद् गठन हुने उनले अपेक्षा गरे । प्रज्ञा–प्रतिष्ठान गरिमामाय संस्थाको रूपमा रहेकाले नेपालको साहित्य प्रवद्र्धनमा आगामी दिनमा संवेदनशील बनी काम गर्नुपर्ने उनले बताए । उनले नयाँ आउने टिमलाई काम गर्ने ठाउँ धेरै भएको उल्लेख गर्दै मात्र इच्छाशक्ति, क्षमता र योग्यता बोकेर आउन आग्रह गरे । उनले भने– “आगामी नयाँ नेतृत्वलाई मेरोे सम्पूर्ण सहयोग रहने छ ।”

पूर्व कुलपति बैरागी काइँलाले गणतन्त्र स्थापनापछिको तेस्रो प्राज्ञ परिषद्ले आयोजना गरेको ३८ औँ प्राज्ञ सभाको भव्य सफलताको शुभकामना व्यक्त गर्दै भने– “यो ज्ञान उत्पादन, निर्माण र वितरण गर्ने संस्था भएकोले अहिले जे जति काम भएका छन् सराहनीय छन् भन्ने मलाई लागेको छ ।” उनले नेपाल भौगोलिक आकारले सानो भए पनि ज्ञानगुनमा भने धनी रहेको उल्लेख गर्दै नेपालमा भएको विविधतालाई विश्वमा प्रवद्र्धन गर्नुपर्ने बताए ।

सभाका सभापतिसमेत रहेका निमित्त कुलपति डा. जगमान गुरुङले प्रज्ञा–प्रतिष्ठानको आफ्नै ऐन र नियमावली भएकोले सोहीअनुसार नयाँ प्राज्ञ सभा परिषद् नबनुन्जेल निमित्तले काम गर्ने व्यवस्थाअनुसार नै सभा आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले विभिन्न महत्वपूर्ण अध्ययन, अनुसन्धान र ग्रन्थहरूको प्रकाशनका लागि प्रज्ञा–प्रतिष्ठानलाई बधाई ज्ञापन गरे भने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले नेपाल प्रज्ञा–प्रतिष्ठा वर्तमान प्राज्ञ परिषद् आफ्नो कार्यकालमा अतुलनीय काम गर्न सफल भएको बताए ।

निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले सभाको औचित्य र सभाले यसअघि गरेका कामका बारेमा जानकारी गराउदै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रको विकास र प्रवद्र्धन गर्न प्रज्ञा–प्रतिष्ठान क्रियाशील रहेको बताए । उनले वर्तमान प्राज्ञ परिषद्ले ३२१ ओटा अध्ययन, अनुसन्धान, २२७ ओटा गोष्ठी, सम्मेलन र कार्यशाला तथा ३८६ ओटा पुस्तक प्रकाशन र पुनः प्रकाशन भएको बताए ।

सरकारको सहयोगमा मूल भवनको पुनर्निर्माण, प्रज्ञा आधुनिक छापाखाना सञ्चालन, भारत सरकारको सहयोगमा प्रज्ञा–पुस्तकालय भवन निर्माण गरिएको उनले जानकारी दिए । प्रज्ञा–प्रतिष्ठानलाई प्रशासनिक भवनको अभाव रहेकोले त्यो निर्माण गर्न पहल भइरहेको, महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) लाई तोकिए भन्दा कम लागतमा महाकवि देवकोटा सङ्ग्रहालयका रूपमा निर्माण गरी सञ्चालनमा आएको, वेबसाइट पुनः डिजाइन गरी इबुक एप निर्माण गरिएको, प्रज्ञा नेपाली बृहत् शब्दकोशलाई एप निर्माण गरी निःशुल्क वितरण गरिएको पनि उनले जानकारी दिए । सातअटै प्रदेशका भूगोल र प्रकृतिका साथै त्यहाँ बस्ने जाति र तिनका भाषा, संस्कृति, इतिहास, कला, साहित्य, धर्म, दर्शन, परम्परा, सभ्यता, ज्ञान, विज्ञान आदि पक्षका स्थलगत अवलोकनसहित सातओटा आधिकारिक ग्रन्थ निर्माण गर्ने र तिनको सारसंक्षेपका रूपमा ‘नेपाल दर्पण’ तयार पार्ने क्रममा ‘मधेस दर्पण’ प्रकाशनको अन्तिम चरणमा रहेको उनले जानकारी दिए । नेपाली दर्शन, तस्बिरमा नेपाल, नेपालको सांस्कृतिक इतिहास, प्रज्ञा नेपाली बृहत शब्दकोश लगायतका पुस्तक तथा अनुसन्धान कृति प्रकाशन भइरहेको उनले बताए ।

पूर्वकुलपति बैरागी काँइलाले ल्यापटपको कि थिचेर प्रज्ञा नेपाली बृहत शब्दकोश मोबाइल एप शुभारम्भ गरेका छन् । मोबाइल एप प्राविधिक निर्माता नयाँ यात्रा प्रा.लि.का प्रमुख इन्जिनियर शिरिष पाण्डेले एपका बारेमा जानकारी दिए । उनले एन्ड्रोइड र एप्पल दुबै भर्सनमा यो एप तयार भएको बताएका थिए । इन्स्टल भइसकेपछि शब्द खोजेर अर्थ प्राप्त गर्न सकिने सरल र सहज किसिमले शब्दार्थ खोज्न सकिने उनले बताए । शब्द र अर्थमा त्रुटी भए त्रुटी रिपोर्ट गर्न सकिने सुविधा पनि रहेको तथा अन्य केही सुझाव भए एप मार्फत नै दिन सकिने उनले जानकारी दिए ।

समारोहमा पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी, पूर्वमन्त्री डा. मोदनाथ प्रश्रित, लोकसेवा आयोगका सदस्य तथा नेपाल प्रज्ञा–प्रतिष्ठान सेवा आयोगका अध्यक्ष दिनेश सिलवाल, भाषा आयोगका सदस्यहरू डा. अमर गिरी, मातृका पोखरेल, कृष्ण न्यौपाने, सांस्कृति संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी, साझा प्रकाशनका सञ्चालक समिति सदस्य हरिप्रसाद भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दर्शनशास्त्र विभागले तयार गरेको ‘नेपाली दर्शन’ ग्रन्थको पूर्वउपकुलपति प्रा.डा. त्रिपाठीले लोकार्पण गरे । यसै गरी लोकवार्ता र बालसाहित्य विभागले तयार पारेको ‘नेपाली लोकवार्ता कोश’को निवर्तमान कुलपति उप्रेतीले लोकार्पण गरेका थिए । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गरेका थिए भने कार्यक्रमका प्रतिवेदक आजको खबर डटकमका सम्पादक डिल्लीरमण सुवेदी रहेका थिए ।

उद्घाटन सत्रको समानपछि बसेको प्राज्ञ सभाको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *