नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतकाे सम्मान वरिष्ठ गायक श्रेष्ठलाई, पुरस्कार कवि पाख्रिनलाई

१० डिसेम्बर, लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २०२२ सालको सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई ‘प्रतिभा सम्मान-२०२२’ र कवि सुदीप पाख्रिनलाई ‘प्रतिभा पुरस्कार-२०२२’ प्रदान गर्ने निर्णय गरेको हो ।

सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशी र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

वि.सं. २००७ साल पौैष १ गते सुनसरी जिल्लाको धरानमा जन्मिएका दीप श्रेष्ठले नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान दिएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो । सन् १९६८ सालमा रेडियो नेपालमा पहिलो गीत  रेकर्ड गरेर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका श्रेष्ठका पाँचसय भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् । उनका गीति एल्बमहरू यात्रा १ र २, दृष्टि, श्रंखला, कदम, दोभान, लिपी, प्रायश्चित, वेष्ट अफ दीप श्रेष्ठ र वेष्ट अफ नारायण गोपाल र दीप श्रेष्ठ लगायतका धेरै एल्वमहरू बजारमा आएका छन् । उनका ‘म त दूरदेखि आएँ.., ‘हर रात सपनीमा..’, ‘बितेका कुराले..’, ‘कति कम्जोर रहेछ..’, ‘हूँ यात्री म..’, ‘झीरमा उनिनु एउटा कुरा..’, ‘हिउँचुलीमा..’ जस्ता दर्जनौओ कालजयी गीतहरू आज पनि उतिकै चर्चित छन् ।

अल्लाहवाद, इण्डीयाबाट संगीतमा स्नातकसम्मको शीक्षा हासील गरेका दिप श्रेष्ठ नेपाल प्रज्ञाप्रतिष्ठानको संगीत निर्देशक भएर लामो समयसम्म सेवा गरे । स्वदेश तथा विदेशको बिभिन्न ठाउँहरूमा एकल गायन शोहरू सम्पन्न गरिसकेका छन् । यस्तै गरि चर्चित कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को प्रशिक्षक तथा अन्य गायन प्रतियोगीताहरूमा निर्णायकको भूमिका निभाउँदै आइरहेका छन् ।

वि.सं. २०२८ साल आश्विन १९ गते सुनसरी जिल्लाको धरानमा जन्मिएका सुदीप पाख्रिन धरानका एक सशक्त युवा कवि हुन् । वि.सं. २०४८ सालबाट कविता लेख्न सुरू गरेका उनको पहिलो कृति आदिम मौनता कवितासङ्ग्रह २०६७ र दोस्रो दगुरिहिड्ने चौबाटो कवितासङ्ग्रह २०७३ प्रकाशित गरिसकेका छन् भने बोध नियात्रा सङ्ग्रह र एउटै शीर्षकका कविताहरूको सङ्ग्रह प्रकाशोन्मुख रहेको बताउँछन् । कृष्णभूषण बल युवा सिर्जना पुरस्कार लगायत धरै सम्मान प्राप्त गरिरसकेका पाख्रिन कलरव, धरान र कृष्ण पाख्रिन प्रतिष्ठान, धरानका संस्थापक सदस्य भएर साहित्यिक तथा सामाजिक कार्यमा संलग्न हुँदै आएका छन् । नेपाली कविता क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत कवि पाख्रिनलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो दार्जिलिङ र गोपाल पराजुली, डा. राजेन्द्र विमल र डा. कृष्णहरि बराल सम्मानित भइसकेका छन् । यसैगरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ,  फुलमान वल, बलराम अधिकारी, शुभ मुकारूङ, विमला तुम्खेवा र गणेश गुरुङ पुरस्कृत भइसकेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *