१७ नाेभेम्बर, लन्डन । याक्थुङ लिम्बु समुदायको महान् पर्व चासाेक तङ्नाम बेलायतमा पनि मनाइएको छ । नाेभेम्बर १७ तारिख विश्वभर एक साथ मनाउने निर्णयअनुसार युमा साम्याे महासभा यूकेले बिहीबार तक्सोक थिसोक फिम्मा तथा चासोक तङ्नाम मनाएको हाे ।
आसफाेर्डकाे क्राइस्ट चर्च कम्युनिटी हलमा भएको कार्यक्रम महासभाका यूके अध्यक्ष दिल पालुङ्वा ‘युमाहाङ’को अध्यक्षतामा भएको थियोे । साे अवसरमा फेजुक्कुम फेदाङ्मा टेक वहादुर हाङश्रोङद्वारा तक्सोक थिसोकको पूजा अनुष्ठान गरिएको थियो ।
ज्येष्ठ नागरिक अमृत बहादुर लिम्बुकाे प्रमुख आतिथ्यमा भएको ओैपचारिक कार्यक्रममा भाग्य चिठ्ठा जस्ता मनोरञ्जनात्मक कार्यक्रम र सांस्कृतिक कार्यक्रम राखिएको थियो । अतिथीहरुमा युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष नरेन्द्र माबाेहाङ, लिम्बुवान नागरिक समाजका अध्यक्ष छत्र वनेम, याक्थुङ चुम्लुङ अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष लोकेन्द्र तबेबुङ रहेका थिए ।
प्रमुख अतिथि अमृत वहादुर लिम्बुले तक्सोक थिसोक तथा चासोक पूर्खाहरुले गर्दै आएको र आउने पुस्ताहरूले समेत अनुसरण गर्दै जानुपर्नेमा जाेड दिए ।
युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष नरेन्द्र माबाेहाङले निश्चित दिन मंसिर १ गते चासोक तङ्नाम मनाउदै जाँदा सन्ततिहरू नअल्मलिने विचार व्यक्त गर्दै चासोक तङ्नाम मनाउने कुरामा एकरूपता हुनुपर्ने कुरा राखे ।
लिम्बुवान नागरिक समाज अध्यक्ष छत्र वनेमले मौलिकतालाई जगेर्ना गरेर अघि बढ्नु राम्रो पक्ष भएको भन्दै यसको निरन्तरता युमा साम्योले गर्न थालेकोमा प्रशंसा गरे ।
आयाेजक महासभा यूकेका अध्यक्ष दिल पालुङ्वाले कार्यसमिति गठन भएको छोटो समयमा पहिलो कार्यक्रम भएको र छोटो समयको प्रचार प्रसारमा कार्यक्रम सफल पारिदिएकोमा उपस्थित सबैलाई धन्यवाद दिए । उनले ज्येष्ठ नागरिकहरुलाई आफूले जानेको ज्ञान दिँदै याक्थुङ संस्कार संस्कृतिकाे संरक्षणमा अग्रसर हुन आग्रह गरे ।
अध्यक्ष पालुङ्वाले नयाँ अन्न धान, कोदो पाकेको उपलक्षमा युमालाई चढाएर मात्र खाने गरेकोले तक्सोक थिसोक गरिँदै आएको र सामूहिक रूपमा तङ्नामको रुपमा चासोक मनाईएको जानकारी गराए । उनले आगामी दिनमा या, फेदाङमाहरुलाई सम्पर्क गरी एउटा समिति बनाउनुपर्ने जनाए ।
कार्यक्रमको अन्तिम चरणमा युमा साम्यो महासभा युकेका अर्थसचिव जय मादेम्बा, सह अर्थसचिव कमल अन्छङ्वो, धन काम्वाङको समूहले केलाङ प्रस्तुत गरेका थिए । त्यस्तै, बुधरानी लिम्बु, मनमाया तुम्बाहाङ्फे, विमला थलङ, सरला काम्वाङ, सञ्चिता मादेन, जसलक्ष्मी मावोको समूहले हाक्पारे, ख्याली र पालाम प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि अमृत बहादुर लिम्बु र अध्यक्ष दिल पालुङ्वाले दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रमको सञ्चालन युमा साम्यो महासभा यूकेका महासचिव तारा कन्दङ्वाले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष हरिभक्त आङ्वुहाङले दिए । बिहीबार मात्रै नेपालमा युमा साम्याे महासभा नेपालले धरानको विजयपुर दरबार परिसरमा सात सयाैँकाे उपस्थितिमा चासाेक तङ्नाम मनाएकाे थियोे ।
त्यस्तै, हङकङ, युएई, साउदी अरब, मलेसिया, कतार लगायतका मुलुकमा समेत चासाेक तङ्नाम मनाउने तयारी भइरहेको छ ।