‘चासाेक तङ्नाम मङ्सिर एकमा’- युमा साम्याे महासभा

३१ अक्टोबर, धरान । युमा साम्यो महासभाले संस्थागत रुपमा विश्वभरि छरिएर रहेका याक्थुङ लिम्बूहरुले हरेक वर्षको मङ्सिर १ गते(नाेभेम्बर १७) चासोक तङ्नाम मनाउने निर्णय गरेको छ । चासाेक तङ्नामलाई एकरुपता दिन महासभाले साे निर्णय गरेको हाे ।

चासाेक तङ्नामलाई एउटै मितिमा मनाएर व्यापकता दिने साेँच रहेको महासभाका अध्यक्ष देवेन्द्रकुमार वनेमले बताए । युमा साम्यो महासभा नेपालले सम्पुर्ण देश, विदेशमा रहेका शाखा समितिहरुलाई मङ्सिर १ गते चासोक मनाउन अपिल गरिसकेको महासभाका सचिव तथा प्रचार प्रसार विभाग प्रमुख सन्तोष कुरुम्वाङले बताए । चासोक अहिले आएर सामुहिक, निजी र संस्थागत गरी तीन प्रकारले मनाउन थालिएको महासभाका महासचिव डा. रमेश इजम लिम्बूले जनाए । चासोक तङ्नाम २०७९ युमा साम्यो महासभा नेपाल केन्द्रले विजयपुर स्थित हाङयुक्ना देन (विजयपुर)मा भव्य रुपमा मनाउने निर्णय गरेको एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

याक्थुङ लिम्बू समुदायमा खेतीपाती लगाएर अन्नबाली पाकेपछि सबैभन्दा पहिले तागेरा निङवाफु युमामाङलाई चढाएर मात्र मानिसहरुले खानुपर्छ भन्ने मान्यता रहिआएको महासभाका अध्यक्ष वनेमले बताए । उनले पूजा अनुष्ठानलाई चासोक गर्ने भनिने र चासोकलाई परम्पराअनुसार चासोक थिसोक गर्ने पनि भन्ने गरिएको बताए । आदिमकालदेखि नै माङजिरी माङ्याक्थुङ समुदाय प्रकृति र कृषि उत्पादनसँग निर्भर रहँदै आएको बताइएको छ । नयाँ अन्न युमा माङलाई नचढाई खाएमा गलगाँड आउने, रोगव्याधले सताउने, अशुभ र अनिष्ट हुने जस्ता विश्वास रहिआएको छ । कृषि युग शुरु हुनु अघि याक्थुङहरुका आदिम पूर्खा सावायेत्हाङहरुले कन्दमूल काँचै खाएर जीवनयापन गर्ने गर्दथे प्रेस विज्ञप्तिमा भनिएको छ । मुन्धुम अनुसार आदिम पूर्खा सावायेत्हाङहरुले अन्नको वीउबिजन पाएपछि तिनका चेली सिगेरा एःक्थुनामा÷सिगेरा यावुङकेक्माले काठको खन्ती र अङ्कुसेले खोरिया फाँडेर भस्मेमा ती अन्नको बीउ छरेर फलाईन् भन्ने कथन रहेको जनाइएको छ । सावायेत्हाङहरुले खेतीपाती गर्न सिके पनि विज्ञप्तिमा उल्लेख छ । खेतीपाती गरेर फलाएको नयाँ पाकेको अन्न युमालाई चढाएर खान थाले । युमालाई चढाएर आगोमा पकाएको अन्नबाली खान थालेपछि सावायेत्हाङका सन्तानहरुले रोगव्याधिबाट मुक्ति पाएको विश्वास छ ।

चासोक (न्वाँगी पूजा) प्रत्येक याक्थुङ लिम्बूको घर(घरमा गर्न, याक्थुङ समुदायमा धान, मकै, कोदो पाकेपछि कुनै पनि जीव जन्तुले जुठो नलगाई वा खानु अगाडि चोखो रुपमा युमालाई चढाउनु पर्ने, कुनै जनावरले खानु जुठो लगाउनु भनेको अशुद्ध हुने महासभाका लेखन तथा खोज, अनुसन्धान विभाग प्रमुख देव इजमले बताए । नचढाई खाए घरमा विरामी पर्ने, गाँड निस्कने, बालीनाली नसप्रिने, देवी देवताहरु रिसाने  र अर्को पटक राम्रोसँग बाली नाली नहुने तथा बिरामी परिने, वस्तु भाउमा विथोल पर्ने आदि हुन्छन् भन्ने विश्वास रहेको केन्द्रीय सचिव भिम केदेमले बताए ।

चासोक थिसोक पूजा अनुष्ठानलाई एउटा प्रमुख तङ्नाम (एक वर्षमा आउने पर्व)को रुपमा याक्थुङ समुदायमा मान्ने प्रचलन शुरु भएको हो । यस अवसरमा युमा माङको पुजाअर्चना गर्ने, नयाँ अन्न चढाउने, एक आपसमा भेटघाट गर्ने, शुभकामना साटासाट गर्ने र सामूहिक रुपमा मनोरन्जन गर्ने गरिन्छ । यस चाडले याक्थुङ लिम्बु जातिभित्र सामाजिक सद्भाव र सम्बन्ध बढाउने महत्वपूर्ण भुमिका निर्वाह गर्न थालेका छन् ।

मङ्सिर १ गते आयोजना गरिने चासोक तङ्नाम कायक्रमकाे दिन बिहान ७ बजे चासोक पूजा हुनेछ । बिहान १० बजेदेखि
सांस्कृतिक प्रर्दशनी र ११ बजेदेखि याक्थुङ लिम्बुको मौलिक खेलहरु खेलाइने छ । आयाेजकका अनुसार १२ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुनेछ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *