युमा साम्याेकाे चासाेक पूजा नाेभेम्बर १७ मा हुने

२८ अक्टोबर, केन्ट । युमा धर्मावलम्बीहरूकाे साझा सङ्गठन युमा साम्याे महासभा यूकेले याक्थुङ लिम्बु समुदायको महान् पर्व चासाेक तङ्नामकाे अवसरमा साँस्कृतिक पूजा गर्ने भएको छ । महासभा यूकेले नाेभेम्बर १७ तारिख तक्साेक थिसाेक या चासाेक तङ्नामकाे सन्दर्भ पारेर परम्परागत विधिबाट चासाेक पूजा राख्ने तयारी गरेको हाे ।

गत अक्टोबर २५ तारिखमा बसेकाे भर्चुअल बैठकले आसफाेर्डमा चासाेक पूजा गर्न लागेको नवनिर्वाचित अध्यक्ष दिल पालुङ्वाले बताए । उनका अनुसार साे पूजामा आसफाेर्डभित्र र बाहिर रहेका सम्पूर्ण याक्थुङ लिम्बु समुदायहरू सहभागी हुन सक्नेछन् । परम्परागत विधि र शैलीबाट फेदाङ्मा(अनुष्ठान गर्ने पुजारी) प्रयाेग गरेर पूजा सम्पन्न हुनेछ ।

साधारणतया: मङ्सिर पूर्णे वा गाउँमा घरमा अन्नबाली पाकिसकेपछि ग्रहण गर्नुअघि कुलदेवता र इष्टदेवताहरूलाई चढाएपछि मात्रै खाने मान्यता र प्रचलन रहेकाे पालुङ्वाले भने । ‘जेठ असारमा राेपेकाे अन्नबाली कात्तिक मङ्सिरमा पाकेपछि हामी सर्वाेच्च शक्ति युमामाङ र अन्य साम्माङहरूलाई चढाएपछि मात्रै ग्रहण गर्छाैँ । याक्थुङ मुन्धुमअनुसार पितृ र पूर्खाहरूलाई पनि स्मरण गर्छाैं,’ उनले भने, ‘त्यसाे हुन नसकेमा राेगव्याधि, अनिष्ट, अनिकालबाट बचिन्छ भन्ने प्राचीन र धार्मिक मान्यता छ ।’ चासाेक पूजा नाेभेम्बर १७ तारिख बिहीबारका दिन बिहान ९:३० बजेदेखि आरम्भ हुनेछ ।

उक्त अवसरमा याक्थुङ सँस्कृति अन्तर्गत केलाङ(च्याब्रुङ नाच) पनि प्रस्तुत गरिने महासचिव तारा कन्दङ्वाले जनाए । कार्यक्रमलाई प्रभावकारी बनाउन विभागीय जिम्मेवारीहरू समेत प्रदान गरिएको उनले जनाए ।

नेपाली पात्राे अनुसार यस वर्ष डिसेम्बर ८ मा मङ्सिर पूर्णिमाका दिन चासाेक परे पनि युमा साम्याे महासभाले हिन्दू पात्राे र तिथिबाट प्रभावित भएको भन्दै नाेभेम्बर १७(मङ्सिर १) लाई उपयुक्त समय मानेर चाड मनाउनुपर्ने धारणा राख्दै आएको छ । चाडकाे नाम र मान्नुपर्ने समयमा पनि अनेकौं मतहरू देखा परेपनि तत्काललाई माैलिक विधि र परम्पराबाट साँस्कृतिक अनुष्ठान सञ्चालन गर्नुपर्ने सहसचिव सानुु सुब्बाले भनिन् ।

कार्यक्रमकाे ब्यानर ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *