किरात राई बान्तावा खिम यूकेकाे पहिलो सम्मेलन सम्पन्न

लन्डन, १८ अक्टोबर । किरात राई समुदायभित्रको बान्तावा भाषिक समूहहरू बेलायतमा पनि सङ्गठित भएका छन् । किरात राई बान्तावा खिम यूकेकाे प्रथम सम्मेलन भर्खरै सम्पन्न समेत भएको छ ।

गत अक्टोबर १६ तारिखका दिन किरात राई बान्तावा भाषिक समुदायाकाे सङ्गठन किरात राई बान्तावा खिम यूकेकाे प्रथम सम्मेलन ऐतिहासिक तथा भव्यताका साथ सम्पन्न भएको छ ।नेपालबाट आएकी पूर्व सभासद तारादेवी राई(जननायक रामप्रसाद राईकी नातिनी) काे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किराती समाजको सांस्कृतिक नायक/मुन्दुमी माङ्पाहरु लाई अतिथिका रूपमा माङ्पा गौरीप्रसाद राई र माङ्पा जय बहादुर राईलाई सायाबुङ(शिरमा फेटा बाँधी) सम्मान गरी मुन्दुमी विधिअनुसार कार्यक्रम सुरुवात गरिएको थियो ।

युवा साँस्कृतिक अभियन्ता एवम् साहित्यकार मूलघरे कान्छा (राजेन खिम्बुले राई ) काे विशेष सक्रियतामा भएको सम्मेलन तदर्थ समितका संयाेजक क्याप्टेन ढुण्डिराज सुच्चाकाे अध्यक्षतामा भएको थियो । यसका लागि गत २१ अगष्टका दिन सर्वप्रथम यूकेवासी किरात राई बान्तावाहरु बेलायतको क्याम्बर्लीमा भेला भई क्याप्टेन सुच्चाको संयोजकत्वमा तदर्थ समिति निर्माण भएको थियोे ।

कार्यक्रममा मुन्दुमी माङ्पाहरूबाट दीप प्रज्वलन साथै किरात राष्ट्रिय गीत मट्टिको कसम बोलको किराती गीत कलाकारहरु श्याम साम्सोहाङ राई, एन बान्तावा, किशन राई र प्रकाश नुमिहाङ राईले गाएका थिए । स्वागत मन्तव्य बान्तावा खिम नेपालका सल्लाहकार चाङ्मायुङमा राईले दिए । किरात राई बान्तावा राईहरुको (ईतिहास,भाषिक/सांस्कृतिक/सामाजिक विगत वर्तमान अवस्था र किरात राई बान्तावा खिम युके गठनको महत्व) बारे मूलघरे कान्छाले कार्यपत्र पेश गरेका थिए ।

सम्मेलनमा किरात राई यायोक्खाको निवर्तमान अध्यक्ष कल्पना राई, सचिव शुशीला राई, भोजपुर सेवा समाजका अध्यक्ष सुदेश कुमार राई लगायत विभिन्न क्षेत्रका विद्वान बुद्धिजिवी एवम् बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सम्मेलन सम्पन्न गराउन गठित निर्वाचन मण्डलको अध्यक्षमा नरहाङ राई, सचिवमा मान बहादुर राई र छेत्रकला राई रहेका थिए । विधान कमिटिको संयोजकमा सनवीर राई रहेका थिए ।

सम्मेलनले युगराज राईकाे अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिकाे उपाध्यक्षहरूमा किशन राई र सुरेश राई, सचिवमा ध्रुव राई, सहसचिवमा नेत्र राई (एन बान्तावा, कोषाध्यक्षमा माधुर्यवती राई र सहकोषाध्यक्षमा मनिकला राई रहेका छन् । त्यस्तै, सदस्यहरूमा भविन्द्र राई, श्याम सामसोङ राई, प्रकाश-नुमिहाङ राई, गोविन्द राई, चन्द्र कुमार राई र कपिल राई रहेका छन् । बाँकी सदस्यहरू कार्यसमितिले भौगोलिक र पाछागत रूपमा सदस्यहरु समेट्दै जाने निर्णय भएको मूलघरे कान्छाले जनाए । बान्तावा भाषी किरात राई समुदायहरुको भाषा, धर्म, संस्कार-संस्कृति, लिपि, मुन्दुम,कला,साहित्य पहिचान र अस्तित्वलाई संरक्षण प्रबर्द्धन गर्न किरात राई बान्तावा खिमकाे स्थापना गरिएको उनले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *