लिम्बु पुस्तकालयमा वैरागी काइलाको हस्तलिखित मुखपत्र

धरानः तिन दशक अघि वैरागी काइलाको सम्पादनमा प्रकाशन हुने गरेको हस्तलिखित मुखपत्र ‘याक्थुङ साप्सक् नु साक्थिम’ धरान-१५ चुम्लुङ हिम स्थित लिम्बु पुस्तकालयमा संकलित भएको छ । किरात सिरिजंगा लिपिमा हस्तलिखित पत्रिका सोशाइटी फर डेभलपमेन्ट अफ लिम्बुको जर्नलको रुपमा प्रकाशित हुन्थ्यो ।

पुस्तकालय लिम्बु विद्यार्थी मञ्चले स्थापना गरेको हो । आइतवार धरान उपमहानगरपालिका उपमेय आइन्द्र विक्रम वेघाले उद्घाटन गरेपछि विधिवत् रुपमा सञ्चालनमा आएको छ । पुस्तकालयमा लिम्बु भाषा-लिपि, साहित्य, इतिहास, वंशावली सहित आदिबासी जनजाति सम्बन्धी नेपाली, अंग्रेजी र सिरिजंगा लिपि लिम्बु भाषाका १ हजार बढी पुस्तक, ग्रन्थहरु संकलित छन् ।

पुस्तकालयलाई दाता, संस्थाहरुबाट आवश्यक सहयोग तथा पुस्तक प्रदान गर्ने क्रम जारी छ । उद्घाटनकै अवसरमा चुम्लुङका केन्द्रिय सल्लाहकार नरप्रसाद लिम्बुले प्रदान गरेको दर्जन पुस्तकहरु मध्ये उक्त दुर्लभ हस्तलिखित जर्नल रहको हो । ‘याक्थुङ सापसोक नु साक्थिम’ नाम उक्त हस्तलिखित जर्नल २०४९ सम्म प्रकाशित भएको लिम्बुले बताए ।

सिरिजंगा लिपिको कम्प्युटर फन्ट विकास भैनसकेका र त्यस बेला कम्प्युटर सर्वसुलभ भैसकेको थिएन् । २०४६ पछि आएको खुलापनमा भाषिक, सांस्कृतिक अभियान अघि बढाउन हस्तलिखितमै उक्त जर्नल प्रकाशित गर्न थालिएको बुझिन्छ । त्यस अघि आदिवासीका भाषा, सहित्य, संस्कृतिका कुनैपनि गतिविधि गर्न पाइदैन थियो ।

जर्नलको प्रधान सम्पादक वैरागी काइला, सहायक सम्पादकव्दय येहाङ लावती र विरही काइला रहेका छन् । फोटो प्रिन्टिङ प्रविधिमा छापिएको जर्नलका अक्षरहरु अहिले कम्युटरमा टाइप हुने सिरिजंगा फन्ट जस्तै देखिन्छ । जर्नलको कभर भने कम्प्युटर डिजाइन गरिएको छ । लिबिमञ्चले घरदैलो गरी पुस्तक संकलन जारी राखेकाले व्यक्तिहरु संग भएका पुराना महत्वपूणर् किताबहरु पुस्तकालमा संकलित हुने विश्वास गरिएको छ ।

लिबि मञ्चका सुनसरी अध्यक्ष हरि इवाहाङ लिम्बुले पुस्तकालय लिम्बु इतिहास, भाषा-लिपि, साहित्य, संस्कृतिका सन्दर्भ सामाग्रीहरु पाइने संग्रहालयको रुपमा विकाश गर्ने उदेश्यले स्थापना गरिएको बताएका छन् । मञ्चलाई पुस्तकालय सञ्चालनका लागि किरात याक्थुङ चुम्लुङले लाइब्रेरी कक्ष उपलव्ध गराएको छ ।

उद्घाटनको अवसरमा उपमेयर वेघाले पठन संस्कृति हराउँदै गएकोमा चिन्ता प्रकट गर्दै पुस्तकालको स्थापनाले नयाँ पुस्तामा पुस्तकको महत्व बारे चेतना बढाउने विश्वास व्यक्त गरे । पत्रकार हर्ष सुब्बाले विशेष गरी आदिवासी भाषा, संस्कृतिका इतिहासका खोजमुलक अध्ययनका लागि पुस्तकालयको अभाव खट्किएको बेला पुस्तकालयलाई त्यसैमा केन्द्रित गरी विकास गरिनुपर्नेमा जोड दिए ।

यसैविच दोश्रो शेसनमा गोर्खा राज्य र लिम्बुवान विच विक्रम सम्बत् १८३१ मा भएको सन्धि विषयक परिचर्चामा प्रदेश १ का पूर्व प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङले भाषा आन्दोलन लिम्बुवान प्रदेश प्राप्तिका लागि सबै भन्दा बलियो माध्यम भएको बताए । लिम्बुहरुले लिम्बु भाषा बोल्न, बुझन छोड्द गएजस्त लिम्बुवान आन्दोलन कमजोर भएको उनको भनाई थियो ।

उनले इतिहासमा सन्धि गर्नेहरु अहिले नभएको, राज्य पक्ष बलियो भएकाले त्यस्लाई पुनवृत्त गर्ने आन्दोेलन जटिल मोडमा पुगेको बताए । उनले भने ‘हामीले थातथलो छोड्यौ, विदेशलाई महत्व दिर्दैछौ, शहरमा बसेर गरिएको आन्दोलनले मात्र अधिकार प्राप्त गर्नु कठिन छ ।’

कार्यपत्र प्रस्तुत गर्दै चुम्लुङ सल्लाहकार नरप्रसाद लिम्बुले १८३१ मा भएको सन्धिको पक्षमा लिम्बुवानले आम सहमति नदिएको बताए । गोर्खा राज्यमा विलय हुने सन्धिप्रति विद्रोह गर्दै विपक्षका लिम्बु अगुवाहरु सुखिम लागेको इतिहासमा देखिने बताउँदै उनले भने ‘लिम्बुवान स्वयत्तताको आन्दोलन त्यसै बेला देखी शुरु भएको हो ।’ लिबि मञ्चका सल्लाहकार सुमन चेम्जोङले उक्त सन्धिनै लिम्बुवान आन्ँदोलनको् मुख्य आधार भएको बताए ।

लिबि मञ्चका केन्द्रिय उपमहासचिव शरगम सागर चेम्जोडले सहजीकगर गरेको परिचर्चामा सहभागीहरुले गोर्खा-लिम्बुवान सन्धी भएको दिनलाई इतिहासको कालो दिन मनाउने र त्यस्लाई लिम्बुवानले राजनीतिक मान्यता पाएको अर्थमा लिने मतान्तरका बारेमा प्रश्न उठाएका थिए । यसबारे राजनीतिक बहस नभएको तर बहसको खाँचौ भएको निश्कर्ष निकाल्दै परिचर्चा समापन गरिएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *