‘प्रतिरोध-पडकास्ट’मा नागरिक अभियन्ता तथा लेखक युग पाठक

६ जुलाई, काठमाडौं । ‘प्रतिरोध पडकास्ट’को आगामी एपिसोडमा नागरिक अभियन्ता तथा लेखक युग पाठक अतिथिको रुपमा उपस्थित हुने भएका छन् । उनी बृहत् नागरिक आन्दोलनमा आबद्ध छन् । उनका ‘उर्गेनको घोडा’ उपन्यास र राजनीतिक निबन्धसङ्ग्रह ‘माङ्गेना’ प्रकाशित छन् ।

सीमान्तकृत समुदायका समसामयिक मुद्दाउपर बहस गर्न समाजका विभिन्न विधामा रहेर सामाजिक न्यायको पक्षमा निरन्तर काम गरिरहेका व्यक्तित्वहरुसित अनौपचारिक संवाद गर्ने उद्देश्यले गत असार ८ गतेदेखि ‘प्रतिरोध-पडकास्ट’ सुरु भएको छ ।

वर्तमान परिप्रेक्ष्यमा मल्टिमिडियाको उपयोगितालाई ध्यान दिंदै सवाल्टर्नका उत्पीडन कथा, पीडाका भोगाइहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ, न्यायोचित समाज निर्माणमा सचेत नागरिकको हैसियतले के, कस्तो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने खोजस्वरुप पडकास्टलाई उपयुक्त माध्यमको रुपमा छनौट गरिएको यसका परिकल्पनाकार बच्चु हिमांशुले बताएका छन् ।

मूलधारको मिडियाले बेवास्ता गरेका सीमान्त आवाज, मुद्दा, व्यक्तित्वलाई विशेष ग्राह्यता दिने, बोल्नैपर्ने प्रतिनिधि पात्रहरुले औपचारिक मञ्चमा राख्न नसक्ने, नसकेका विषयवस्तुको अन्तर्य पनि खुलाउने गरेर पडकास्टको प्रभावकारिताको कल्पना गरिएको उनले बताए ।

पडकास्ट विशुद्ध रुपमा गैरनाफामुखी हुने, मुद्दाकेन्द्रीत हुने र यसले कुनै पनि खाले प्रतिगामी तत्व, विवादित पात्र-संस्था, नाफामुखी व्यावसायिक घरानासित सहकार्य नगर्ने बताइएको छ । पडकास्टको मुख्य ध्येय सीमान्तकृत समुदायका आवाजको प्रतिनिधित्व हुने र यसले चर्चाकेन्द्रीत बाटो नअपनाउने भनिएको छ । सीमान्तकृत मुद्दा नै पोडकास्टको मेरुदण्ड हुने र देशभर सामाजिक न्यायको पक्षमा, अन्यायको विरुद्धमा भइरहेका तमाम अग्रगामी नागरिक आन्दोलनलाई पडकास्टले समर्थन गर्ने बताइएको छ । प्रतिरोध यसको विषय हुने भनिएको छ ।

बच्चु हिमांशुका अनुसार पडकास्टको राजनीतिक पक्षधरता पहिचान राजनीति हुनेछ । पडकास्टको परिधिमा पहिचान साहित्य, कला, सङ्गीत हुनेछ । एकात्मक, नश्लीय, एकल जातीय सर्वोच्चता, आदि राज्यसत्ताको चरित्र, भाष्य र शैलीलाई पोडकास्टले अस्वीकार गर्नेछ । पडकास्टले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अनुमोदन गर्दछ । तर नेपाल भूगोलभित्रका आदिवासी जनजाति, महिला, दलित, अल्पसंख्यकले संविधानउपर राखेका असहमतिप्रति पडकास्टको पूर्ण ऐक्यबद्धता रहने उनले बताएका छन् ।

उनका अनुसार पडकास्टले विश्वपरिवेशमा घटित घटनाहरुलाई पनि सम्बोधन गर्नेछ । प्रकृति पर्यावरण, जलवायु परिवर्तन, प्रदुषण, मानव बेचबिखन, भ्रष्टाचार, विश्वराजनीतिक परिस्थिति, औपनेवेशीकरण, द्वन्द, सरणार्थी समस्या, विश्वस्वास्थ्य, महामारी, आर्टिफिसियल इन्टेलिजेन्स, पूँजीवादको असर, आदि सबै खाले वैश्विक विषयमा बहस गर्न पडकास्ट खुला रहनेछ ।

विवादरहित, निस्वार्थ ढंगले राजनीतिक, साहित्यिक, वैचारिक, आदि जुनसुकै विधामा रहेर भुइँमान्छेको प्रतिनिधित्व गरिरहेका व्यक्तिहरु पडकास्टमा अतिथि हुने उनले बताएका छन् । न्यायप्राप्ति अभियानका घटनाप्रेरित पात्रहरु पनि पडकास्टमा अतिथि हुनेछन् । अतिथि छनौटमा समावेसी समानुपातिकतालाई ग्राह्यता दिइने उनले बताए । परिस्थितिअनुसार एकजना अतिथि एकभन्दा बढीपटक पनि आउन सक्ने बताए । अतिथि छनौटमा बाह्य हस्तक्षेप निषेध गरिएको उनले बताएका छन् ।

बच्चु हिमांशु आफैं सञ्चालक रहेको यो पडकास्ट ‘भिलेज नेपाल स्टुडियो’ नामक युट्युब च्यानलमार्फत प्रत्येक शुक्रबार साँझ ७ बजे प्रसारण हुँदै आएको छ । असार ८ गते प्रसारण भएको पहिलो एपिसोडमा राजनीतिक विश्लेषक तथा लेखक आहुति र असार १५ गतेको एपिसोडमा अधिवक्ता तथा मानवअधिकारकर्मी मोहना अन्सारी अतिथिको रुपमा उपस्थित थिए ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *