प्रथम सहिद लखन थापा मगरको तस्वीर बेलायतकाे नेपाली दूतावासमा राखिने

१४ फेब्रुअरी, लन्डन । नेपालका प्रथम सहिद भनेर कहलिएका लखन थाप मगरको तस्वीर लन्डनस्थित नेपाली दूतावासमा राखिने भएको छ । अन्य राष्ट्रिय सहिद र व्यक्तित्वहरूसँगै सहिद मगरको पनि तस्वीर प्रतिस्थापन गरिने तयारी भएको हाे ।

१४६ ओैँ सहिद लखन थापा मगर स्मृति दिवसकाे अवसर पारेर केन्सिङ्टनमा रहेको नेपाली दूतावासमा सहिदकाे फाेटाे राखिने दूतावासले जनाएको छ । मङ्गलबार स्थानीय समयअनुसार बेलुकी ४ बजे सामाजिक अगुवाहरूकाे उपस्थितिमा तस्वीर राखिने कार्यक्रम तय भएको नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूके अध्यक्ष कर्मा पहाडी शेर्पाले जनाए । ‘पहिलो सहिद लखन थापा मगरको तस्वीर अब नेपाली दूतावासमा झुन्डिने भएको छ । यसले हामी सम्पूर्ण आदिवासी जनजाति समुदायको भावनाकाे सम्मान भएको छ,’ अध्यक्ष शेर्पाले भने, ‘यस कार्यले नेपाल देश बन्नमा यहाँका आदिवासी मूलवासीहरूकाे याेगदान रहेको स्मरण गराउनेछ ।’

तस्वीर प्रतिस्थापन कार्यमा दूतावासबाट राजदूत ज्ञानचन्द्र आचार्य, प्रवक्ता राेशन खनाल लगायत नेफिन आबद्ध पदाधिकारी सदस्यहरू, जातीय संस्था, सामाजिक सङ्गठनका प्रतिनिधिहरू रहने नेफिन यूके महासचिव विमला सेने लिम्बुले जनाइन् । उनले इच्छुकहरूलाई दूतावासमा बेलुकी ४ बजेअगावै उपस्थित हुन् पनि आग्रह गरिन् ।

नेफिन यूकेकी सल्लाहकार एवम् किरात राई यायाेक्खा नेपालकी पूर्व अध्यक्ष डा. सुमाया राईले धेरै सङ्घर्ष र लामाे अभियानबाट याे उपलब्धि हासिल भएको स्मरण गरिन् । नेफिन यूके पूर्व अध्यक्ष जङ्ग सुनुवारले दूतावासकाे कामलाई ऐतिहासिक भएको टिप्पणी गरे । मङ्गलबार हुने कार्यक्रममा जनसहभागिताका लागि नेफिन यूकेले संयाेजन गरिरहेकाे छ ।

लन्डनकाे केन्सिङ्टनस्थित नेपाली दूतावासकाे भवन ।

काे हुन् लखन थापा मगर ?

जहानियाँ राणाशासन विरुद्ध पहिलो पटक जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति लखन थापामगर नेपालका पहिलो शहीद हुन्। उनलाई सन् २०००/२/२३ मा तत्कालीन नेपालको श्री ५ को सरकार बाट शहिद घोषणा गरिएको थियो । राणा शासन विरूद्ध विद्रोह गरेका लखन थापा मगरलाई वि सं १९३३ मा मनकामना मन्दिर परिसरको खिरा को  रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।नेपालको इतिहासमा प्रथम शहीदको गरिमामय स्थान प्राप्त गरेका लखन थापा मगरको जन्म वि.सं.१८९१ (ई.सं १८१४) मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको थियो। उनको जन्म जुम्ल्याहा दाजुभाई का रूपमा भएको थियो।

लखन थापा मगर नेपालका प्रथम सहिद हुन् तर उनको सहादतको १ सय २५ वर्षपछि २०५६ फाल्गुन ११ गते राज्यले उनलाई सहिदमात्र घोषणा गर्‍यो। उनलाई प्रथम सहिद घोषणा नगरिँदा असन्तुष्ट नेपाल मगर संघले २०६२ माघ १० गते सरकारलाई ज्ञापनपत्र दिएर सहिद कप्तान, लखन थापा मगर (दोस्रो) लाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग गर्‍यो ।

२०६२/६३ को जनआन्दोलनले राजा, महाराजाको फोडिएको सालिकको स्थानमा बुटवल, पाल्पा, पोखरा र धादिङमा लखन थापा मगरको सालिक स्थापना गरिएको छ। घोराही, दाङमा निर्माणाधीन सहिदपार्क, अन्य ठाउँमा सडक, चोक आदिको नामकरण प्रथम सहिद लखन थापाबाट गरिएको छ।नेपाल मगर संघ र प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मगर संघ, हङकङ, अमेरिका, यूके, अष्ट्रेलिया, क्यानाडा, बेल्जियम, कतार, साउदी अरब, मलेसिया, ओमान, बहराइन, जापानले प्रथम सहिद लखन थापा मगरको स्मृतिमा विविध कार्यक्रम गरी प्रथम सहिद घोषणा गर्न दबाब दिँदै आएका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *