लागूऔषध दुर्व्यसनबारे आसफाेर्डमा सचेतना कार्यक्रम हुँदै

१ फेब्रुअरी, आसफाेर्ड । नेपाली समुदायको बाहुल्य रहेको केन्टकाे आसफाेर्डमा लागूऔषध तथा मद्यपान दुर्व्यसनबारे एक दिने सचेतना कार्यक्रम हुने भएको छ ।

नेपाली समाजमा पछिल्लो समय किशोरकिशोरी र युवायुवतीहरू दुर्व्यसनमा फस्नेहरूकाे संख्या बढिरहेको बेला आसफाेर्डमा साेबारे सचेतना कार्यक्रम यहीँ फेब्रुअरी ५ तारिख आइतबार हुन लागेको हाे । ग्लाेबल बुलियन भल्टले फरवार्ड ट्रस्टसँगकाे सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको भल्टका संस्थापक जितेन्द्र चेम्जोङले बताए । व्यावसायिक प्रतिष्ठान भएतापनि सामाजिक दायित्वअन्तर्गत भल्टले कार्यक्रम आयाेजना गरेको जनाए ।

‘हाम्रो समुदायका युवाहरू दुर्व्यसनमा फसेका हुन सक्छन् । उनीहरू र अभिभावकहरूलाई उचित जानकारी र परामर्श दिन कार्यक्रम गरेका हाैँ,’ चेम्जोङले भने, ‘यसबाट समुदायले लाभ लिने विश्वास गरेका छाैँ । सेफ डिपाेजिट लकर सेवा उपलब्ध गराउँदै आएको भल्ट डेढ वर्षअघि सञ्चालनमा आएको हाे ।

भल्टका अर्का संस्थापक एवम् प्रबन्ध निर्देशक जनक राईले लागूऔषध तथा मद्यपानकाे दुर्व्यसनलाई निरुत्साहित गर्न कार्यक्रम गरिएको जनाए । प्रत्येक व्यक्ति र व्यावसायीहरूले समाजका लागि केही न केही याेगदान दिनुपर्ने आफ्नोे धारणा रहेको बताए ।

आइतबार दिउँसो साढे एक बजे बिहीबारे हलमा हुने कार्यक्रमकाे सहजकर्ता फरवार्ड ट्रस्टका ड्रग एन्ड एल्काेहल प्राक्टिसनर विजय लुम्फुङ्वा लिम्बु रहेका छन् । चार वर्षदेखि आबद्ध रहेर काम गरिरहेका उनले दुर्व्यसनकाे स्थिति, नेपाली मूलका व्यक्तिहरूकाे अवस्था, प्राप्त गर्न सकिने परामर्श र उपचार लगायतका विषयमा प्रस्तुति दिनेछन् । केन्टकाे आसफाेर्डमा पछिल्लो समय उल्लेख्य सङ्ख्यामा दुर्व्यसनीहरू बढेको हुन सक्ने साे क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् । लुम्फुङ्वा नेपालमा रहँदा लागूपदार्थ दुर्व्यसन राेकथाम तथा नियन्त्रणका क्षेत्रमा करिब २३ वर्ष काम गरेका थिए ।

सन् १९९१ देखि फर्वार्ड ट्रस्टले केन्टकाे आसफाेर्ड, फाेक्सटाेन, क्यान्टरवरी, थानेत लगायतका ठाउँमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । राष्ट्रिय तथ्यांक कार्यालय बेलायतका अनुसार सन् २०२२ काे जूनसम्ममा १६ देखि ५९ वर्षसम्मका ३० लाख वयस्क र १६ देखि २४ वर्षसम्मका ११ लाख युवाहरूले कुनै पनि प्रकारको लागूपदार्थ प्रयाेग गरेको जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *