नाटकमय चुलाचुली: यो हाम्रै कथा हुनसक्छ

✍️ बच्चु हिमांशु

यो कुनै प्राचीन रोमन वा ग्रीक एम्फिथिएटर होइन । न हो यो, आधुनिक सभ्यताको ‘हलिवूड बाउल ।’ यो राजधानीका सुविधासम्पन्न मण्डला, शिल्पी, सर्वनाम, आदि थिएटरजस्तो पनि होइन । न हो, राष्ट्रिय नाचघरको झैं आलिशान रंगमञ्च । यो त हो, प्रकृतिको आँगनमा हुर्किरहेका रुखहरुको काखमा आफ्नो बालशुलभ मुस्कान मुस्कुराइरहेको, ‘थिएटर इन द वूड्स ।’

अभावको भाँडोमा अलिकति रहर, अलिकति बाध्यता, अलिकति सपना मिसाएर उत्साहको चुल्होमा पाकिरहेको कलाका भोकाहरुको भोक टार्ने भोजन हो, ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९ ।’

नाटक सिक्ने उपयुक्त उमेर कति हो ? जबकि बालकले आफ्नी आमाको कोखबाटै अभिनयको कखरा सिक्न सुरु गरिसकेको हुन्छ । उसो त मानव इतिहास नै नाटकहरुको इतिहास हो भन्दा अत्युक्ति नहोला । मानिसले सम्भवत: शिकारी युगदेखि नै बाँच्नका लागि संघर्ष गर्ने क्रममा, खानाको जोहो गर्नलाई नाटकको सदुपयोग गर्न थाल्यो । यो पनि हुनसक्छ, अनुकरण गर्नमा सबैभन्दा पोख्त भएकैले आज अन्य प्राणीभन्दा अलग छ मानव जाति ।

अरु प्राणीभन्दा अलग र क्षमतावान हुँदै गर्दा प्रकृतिका लागिभने मानव जाति सबैभन्दा खतरनाक प्राणी बनिरहेको छ । मानव जातिबाहेक अन्य कुनै पनि प्राणीले प्रकृतिको दोहन गर्दैन । संसारका सबै प्राणीहरु प्रकृतिलाई आफ्नो बासस्थान बनाएर प्रकृतिले दिएको आहारा खान्छन् । तर मानव जाति योभन्दा अगाडी बढेर आफ्नो फाइदाका लागि प्रकृतिको विनाश गर्छ । त्यसैले त पछिल्लो तीन दशकमा पृथ्वीबाट दस प्रतिशत वनजङ्गल गायब भइसकेको छ । दिनानुदिन उर्वर भूमिहरु कंक्रिटको जङ्गलमा परिणत हुँदैछन् । प्राणीजगतका लागि पृथ्वी साँघुरो बन्दै गइरहेको छ । मानव जातिले पृथ्वीलाई आफ्नोमात्रै ठान्ने गर्नाले आज पृथ्वीमा सम्पूर्ण प्राणीजगतकै आयु छोटिंदै गइरहेको छ ।

वन्यजन्तु र मानव जातिबीच वर्षौंदेखि चलिआएको यो द्वन्द पूर्वी नेपालको चुलाचुली गाउँपालिकामा पनि विद्यमान छ । सीमावर्ती भारतको निकुञ्जसँग जोडिएको जङ्गली हात्तीहरुको राजमार्ग नेपालको पूर्वी सिमाना हुँदै पश्चिममा चितवनसम्म तन्किएको छ । यही ‘हात्ती राजमार्ग’मा पर्छ चुलाचुली गाउँपालिका पनि । चुलाचुलीमा मानिसहरु झोडा फाँडेर बस्ती बस्न थालेको इतिहास निकै लामो छ । तर तीसको दशकदेखि यस क्षेत्रमा बसाइँ सरेर आउने मानिसहरुको सङ्ख्या ह्वात्तै बढ्यो । त्यस समयदेखि आजसम्म यस भेगले मानव-हात्ती संकट बेहोरिरहनुपरेको छ । हात्ती हिंड्ने बाटोमा मान्छेले अवरोध खडा गरिदिएपछि यस्तो संकट उत्पन्न हुनु स्वाभाविक हो ।

यस भेगमा वन्यजन्तु र मानिसबीचको द्वन्द यतिमामात्रै सिमित छैन । बेलाबेला चितुवाले चरनमा लगेका बाख्रा खाइदिने गरेका घटनाहरु सुनिन्छन् । मृग, बँदेलले बालीनाली खाइदिन्छन् । कहिले गाउँमा बाँदर पस्छन् । यो सबै यसकारण भइरहेको छकि, चुलाचुलीको चुरे जङ्गल पहिला जति घना थियो, त्यसलाई पातलो बनाउने काम मान्छेले नै गरे । एउटा आराले नभ्याउने रुखलाई भारतबाट लामो आरा किनिल्याएर गिंडे । यसरी सयौं वर्ष पुराना लाखौं वयस्क रुखहरु मासिए । रुख मासिएपछि जङ्गल पातलियो । जङ्गल पातलिएपछि वन्यजन्तुको आहारा पनि पातलियो । जङ्गल मासेर बस्ती बसाए । अनि खान नपाएपछि बस्ती नछिरेर कता छिरुन् ती ?

यसैको प्रभाव भन्नुपर्छ, ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’मा मञ्चन भएका दसमध्ये अधिकांश नाटक पर्यावरण संरक्षणसँग सम्बन्धित थिए । चुलाचुलीको विद्यमान पर्यावरणीय अवस्थाबारे जागरुक हुनुपर्ने समय आइसकेको संकेत हो यो । नाटकमार्फत बालबालिकाहरुले प्रकृतिमाथि मानवअतिक्रमणबारे चर्चा गरेका छन् । वनविनाशको असरबारे चर्चा गरेका छन् । विविध खाले प्रदुषणका असरबारे चर्चा गरेका छन् । मूलतः यो प्रकृति मानव जातिकोमात्रै होइन, यो त सबै प्राणीजगतको साझा घर हो भन्ने सन्देश दिएका छन् । नाटकमार्फत पर्यावरण सचेतनाको मुद्दा उठाउनु सबैभन्दा प्रभावकारी हुन्छ किनभने श्रव्यदृश्य सामग्रीले मान्छेको मश्तिष्कमा लामो समयसम्म प्रभाव छोड्छ । नाटकको तयारीमा बालबालिकाहरुले लामो समय लगानी गरेका हुन्छन् । यही लगानीको क्रममा पर्यावरण संरक्षणसम्बन्धि गहिरो प्रभाव उनीहरुको अवचेतनामा बसिसकेको हुन्छ । यसले गर्दा भोलिका दिनमा पर्यावरण संरक्षणप्रति सचेत समाज निर्माण गर्न मदत पुग्छ ।

हाम्रा विद्यालयहरुका पाठ्यक्रम किताबको पानाभित्र सिमित छ । आजको दिनसम्म पनि बालबालिकाहरुको शिक्षण सिकाइ विद्यालयको चार किल्लाभित्र बन्द छ । उसै त शैक्षिक पूर्वाधारहरुको अभावमा चलिरहेका विद्यालयहरु छन्, त्यसमा पनि पुरानै शैलीको रटन्ते विद्याले बालबालिकाको वृत्तिविकासमा खास भूमिका नखेलिरहेको अवस्था छ । विकसित मुलुकका विद्यालयहरुले विद्यार्थीलाई प्रयोगात्मक र रचनात्मक शिक्षा दिइरहेका बेला नेपालका सबैजसो स्कूलहरु आज पनि पाठ्यपुस्तकभन्दा बाहिर आउन नसकिरहेको अवस्था छ । यस्तोमा थोरै सङ्ख्या नै सही, शिक्षण सिकाइको वैकल्पिक विधिका रुपमा नाट्यगतिविधिलाई स्कूलमा प्रवेश गराउने हिम्मत चुलाचुलीका केही विद्यालयहरुले गरेका छन् ।

‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ यसपटक चुलाचुली गाउँपालिका-३ को शिववरक मिलनपोखरीमा आयोजना भयो । बस्तीभन्दा अलि पर चुरे पहाडी जङ्गलको प्रवेशद्वारमा, पोखरीको किनारमा यो उत्सव आयोजना गरियो । पर्यावरणलाई कुनै हानी नपुर्याइकन प्राकृतिक मञ्चमा यो उत्सव आयोजना भयो । स्थानीय सरकारले पर्यटकीय स्थलका रुपमा करोडौं लगानी गरेर प्रवर्द्धन गरिरहेको यस क्षेत्रको विकास र पर्यटनको अवधारणालाई नै उत्सवले चुनौती दिएको छ । गज्जब त यो भयो, यस्तो सन्देश बालबालिकाहरुले दिए । विकास भनेको सिर्फ ठुल्ठुला भौतिक संरचना निर्माण गर्नुमात्रै होइन भन्ने सन्देश दिइयो । विकास र पर्यटनको वैकल्पिक अवधारणा पनि छ भन्ने कुरा जनप्रतिनिधिहरुलाई बुझाइयो । गाउँपालिकाका जनप्रतिनिधिहरुकै उपस्थितिमा उनीहरुले बुझेको विकासको प्रचलित भाष्यमाथि नै प्रश्न गर्नु र सोच्न बाध्य बनाउनु सामान्य सफलता होइन ।


आजको दिनसम्म पनि नाट्यक्षेत्रलाई समाजले अनुत्पादक क्षेत्र मान्दै आएको छ । आफ्ना नानीहरु यो क्षेत्रमा लागेभने पढाइ बिग्रने, हुँदाहुँदा भविष्य नै बिग्रने भयले सकेसम्म यो क्षेत्रमा लाग्दै नलागुन् भन्ने अभिभावकहरुको चाहना हुन्छ । तर यो उत्सवले अभिभावकहरुको यस्तो सोचमा परिवर्तन ल्याउन मदत गरेको छ । नाट्यक्षेत्र पनि समाज परिवर्तनको उपयुक्त माध्यम रहेछ भन्ने उनीहरुले महसुस गर्न थालेका छन् । नाटकको माध्यमबाट आफ्ना नानीहरुले समाज र व्यवस्थालाई सकारात्मक सन्देश दिएको देखेर अभिभावकहरु खुसी भएका छन् । विद्यालयको चारघेराभित्र नसिकिने कुरा नाटकको माध्यमबाट नानीहरुले सिकेका छन्, अरुलाई सिकाएका छन् ।

नाटकमा नानीहरु जनावर, चरा, रुख, आदि चरित्रमा देखिए । हेर्दा त यो सामान्य कुरा देखिन्छ । तर अभिनयको यस्तो ‘पर्सोनिफिकेसन’ले बालबालिकाभित्र यस पृथ्वीमा रहेका जीव र वनस्पतिप्रति समानुभूतिको भाव पैदा हुन्छ । यस पर्यावरणका सबै जीव, वनस्पतिको बराबर महत्व छ भन्ने नानीहरुले बुझ्छन् । मानव जाति आफूले आफैंलाई प्राणीजगतकै सर्वोत्कृष्ट जाति मान्दैगर्दा अन्य प्राणीहरुको दु:ख बुझिदिने दायित्व पनि मानव जातिकै हो भन्ने उत्तरदायित्व उनीहरुले महसुस गर्नेछन् । बालबालिकामा आउने यस्तो उत्तरदायित्वबोधले पर्यावरण संरक्षणमा ठूलो टेवा पुग्नेछ ।

चुलाचुली रंगमञ्च विगत डेढ दशकदेखि नाट्यक्षेत्रमा सक्रिय संस्था हो । अनेक अभावहरुका बावजूद यो संस्थाले निरन्तर नाट्यगतिविधि गरिरह्यो । रिहर्सल गर्ने स्थायी हल नभएपछि चराले आफ्नो गुँड बनाउन रुख फेरेजस्तो ठाउँहरु फेरिरह्यो । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय महोत्सवहरुमा नाटक लिएर गयो । सयौंको सङ्ख्यामा जनचेतनामूलक नाटकहरु प्रदर्शन गर्यो । तर राज्यले कहिल्यै उचित प्रोत्साहन दिएन । अभ्यास गर्ने हलसमेत उपलब्ध गराएन । व्यवस्थित थिएटर बनाउने त झन् धेरै परको कुरा भयो । नाट्यक्षेत्रलाई राज्यले कति हेयभावका साथ हेर्दो रहेछ भन्ने कुरा यहीँबाट थाहा हुन्छ । तर राज्यको अनुदार अनुहार हेरेर चुपचाप बसेको छैन यो संस्था । पाठशाला नाट्य उत्सव आयोजना गरेको नै यो दोश्रोपटक हो । ७६ सालमा पहिलो संस्करण आयोजना भयो । कोरोना कहरले अवरोध नगरेको भए सम्भवत: यो चौथो उत्सव हुने थियो । यही उत्सव पनि कुनै व्यवस्थित मञ्चमा आयोजना भएको होइन । जङ्गलमा, प्राकृतिक मञ्चमा आयोजना भएको हो । कमभन्दा कम बजेटमा आयोजना भएको हो । संस्थाकै पहलमा आयोजना भएको हो ।

समाज रुपान्तरणको बाटोमा निरन्तर लागिरहेको फलस्वरुप यसपटकको पाठशाला नाट्य उत्सवमा गाउँपालिका पनि जोडिन आइपुग्यो । हिजो अनेकौं हन्डरहरु सहेर दु:खका साथ कलायात्रा तय गर्दै आएको संस्थाले आज केही हद राहतको स्वास फेर्ने मौका पाएको छ । गाउँपालिकाकै विशेष सहयोगमा उत्सवको दोश्रो संस्करणले सफलता हासिल गर्यो । तर गाउँपालिकाको यति सहयोगले मात्रै नाट्यक्षेत्र समृद्ध बन्नेवाला छैन । जुन प्राकृतिक मञ्चमा उत्सव आयोजना भयो, त्यस ठाउँलाई अधिग्रहण गरेर त्यहाँ प्राकृतिक एम्फिथिएटर बनाउन लगानी गर्ने हिम्मत यो गाउँपालिकाले गर्ला त ? डेढ दशकदेखि सक्रिय संस्थालाई प्रोत्साहन दिन कुनै नयाँ योजना पालिकाले ल्याउला त ? अथवा आफ्नो पालिकाभित्र एउटा सुविधासम्पन्न थिएटर त बलाउला । यति अपेक्षा गर्न सकिन्छ ।

लेखक हिमांशु ।

शिववरक मिलनपोखरी एउटा प्राकृतिक सम्पदा हो । यसको संरक्षण र प्रवर्द्धनका लागि राज्यका तर्फबाट करोडौंको लगानी भइरहेको छ । तर संरक्षण र प्रवर्द्धनका नाममा विभिन्न कृत्रिम संरचनाहरु बनाउने योजनाको विकासे मोडेल आफैंमा प्रश्नभन्दा पर छैन । प्राकृतिक रुपमै निर्मित रंगमञ्चजस्तो भौगोलिक संरचना यही पोखरीको आडमै छ । प्रकृतिले दिएको यो उपहारलाई राज्यले प्राकृतिक रंगमञ्चका रुपमा संरक्षण र प्रवर्द्धन गर्न कस्तो भूमिका खेल्छ, यसैमा उसले लिएको विकासको बाटो तय हुन्छ । एकातिर डाँडा खारेर निर्जीव मूर्ति खडा गर्न पहल गर्ने राज्यले त्यसको छेउमै रहेको प्राकृतिक रंगमञ्चलाईचाहिँ कुन आँखाले हेर्छ, त्यो भविष्यमा देखिने कुरा हो । यसपटक जनप्रतिनिधिहरुले नाट्य उत्सवलाई जुन चासोका साथ अवलोकन गरेका छन्, त्यसबाट पक्कै पनि उनीहरुको चेतनास्तरमा नयाँ विचारले ठाउँ लिएको छ । निर्जीव मूर्तिमा गरिने लगानीभन्दा कयौं गुणा महान काम हो, बालबालिकाहरुमा गरिने लगानी । उसो त डाँडाडाँडामा भ्युटावर, चोकचोकमा लाखौंको मूर्ति र भौतिक संरचना खडा हुने यही देशका विद्यालयहरुमा शौचालयजस्ता आधारभूत संरचना पनि नाक थुनेर छिर्नुपर्ने खालका छन् । यति भन्दै गर्दा विकासको यस्तो विनाशकारी अवधारणालाई चुलाचुली गाउँपालिकाले पनि अबलम्बन गर्नेछ भनेर भनिहाल्ने आधारचाहिँ छैन ।

चुलाचुली रंगमञ्च दर्ता हुनुअगावै विगत पाँच, छ वर्षदेखि यस संस्थामा आबद्ध चेतन आङ्थुपो, अनिल सुब्बालगायतका कलाकारहरुले नाट्यक्षेत्रमा काम गर्दै आएका थिए । वैधानिक रुपमा ७० सालमा संस्था दर्ता भएपछि थप सक्रिय भएको यो संस्थाले मनाहाङ लावतीजस्ता कलाकारहरुलाई नेपाली रंगमञ्चमा स्थापित गराइसकेको छ । स्थानीय स्तरमा स्तरीय नाट्यगतिविधि गर्नेहरुमा यस रंगमञ्चमा जोडिएका कलाकारहरु नै पर्छन् । नाट्यक्षेत्रलाई समाज रुपान्तरणको एउटा अभिन्न अङ्गका रुपमा समाजले स्वीकार्ने बनाउन यस संस्थामा आबद्ध सबै कलाकारहरुको उत्तिकै योगदान छ । तर एकाध कलाकारले व्यावसायिक सफलता हासिल गर्दैमा बाँकी सबै कलाकारहरुले रोजगारी पाइहाल्ने पनि होइन । यसका लागि गाउँपालिकाभित्रका प्रत्येक विद्यालयले नाट्यप्रशिक्षणको कक्षा अनिवार्य गर्नुपर्छ । यसो भएमा एकातिर निरन्तर साधना गरिरहेका कलाकारहरुले स्थानीय स्तरमै रोजगारीको अवसर पाउनेछन् । अर्कोतिर विद्यालय तहमै बालबालिकाहरुले नाटकको आधारभूत सीप हासिल गर्नेछन् ।

नितान्त स्थानीय कलाकारहरुको योगदानबाट आज चुलाचुली रंगमञ्चले एउटा मौलिक पहिचान स्थापित गर्न सफल भएको छ । यो मौलिकताको यात्रा यसकारण सम्भव भएको छ, कि यस संस्थाले सुरुको दिनदेखि नै केन्द्रभन्दा टाढा रहेर पनि उपलब्धिमूलक कामहरु गरिरहेको छ । नाट्यक्षेत्रमा उपलब्ध संरचनाको लाभ नलिइकन आफ्नो गतिविधिलाई केन्द्रबाट निक्षेपण गरेको छ । यही हिम्मतका साथ आजको दिनसम्म आइपुग्दा पाठशाला नाट्य उत्सवलाई मौलिक ढंगले आयोजना गर्नमा संस्थाले सफलता हासिल गरेको छ । त्यसैको उपज हो, प्राकृतिक रंगमञ्चमा उत्सवको आयोजना । यो मौलिक छनौटको श्रेय संस्थाका अध्यक्ष तथा उत्सवका संयोजक चेतन आङ्थुपो र उनको संस्थालाई जान्छ । उनकै दाबीमा यो देशकै एकमात्र प्राकृतिक रंगमञ्च हो । उसो हो त, यसको नामकरण गर्ने अधिकार पनि संस्थालाई नै छ । पंक्तिकारले राखिदिएजस्तो, भविष्यमा यसको नाम ‘थिएटर इन द वूड्स’ नहुनसक्छ । तर जे नाम हुनेछ, त्यो मौलिक नाम हुनेछ । र त्यस नाममा चुलाचुली रंगमञ्चले जरुर अपनत्व महसुस गर्नेछ ।

चुलाचुली रंगमञ्चले तय गरेको डेढ दशक लामो नाट्ययात्राको प्रभाव नै भनौं, उत्सवमा आएका सबैजसो नाटकहरु स्तरीय थिए । पर्यावरणीय मुद्दा समेटिएका नाटकहरु धेरै भएता पनि गरिबी, जनयुद्ध, महिला सशक्तीकरण, प्रविधिको दुरुपयोगजस्ता मुद्दामा केन्द्रीत नाटकहरु पनि आएका थिए । हरेक नाटकको फरक विषय र प्रस्तुतीकरण भएकाले सबै नाटकहरु उत्तिकै सशक्त थिए । यसबाट यस भेगमा नाटकको ठूलो सम्भावना छ भन्ने देखिन्छ । पाठशाला नाट्य उत्सवले भविष्यका लागि कलाकारमात्रै तयार पारिरहेको छैन । नाटक हेर्ने दर्शक पनि तयार गरिरहेको छ । छिमेकी झापा, पाँचथर र मोरङ जिल्लाका  पनि नाटकहरु सहभागी भएको यस उत्सवले अर्को संस्करणमा आफ्नो आयतन बढाउनेमा दुईमत छैन ।

‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ नाराका साथ आयोजित पाठशाला नाट्य उत्सवले आफूलाई शहरकेन्द्रीत मानसिकताबाट अलग राखेर नाट्य गतिविधिमार्फत मौलिकताको बहस उठान गरेको छ । उत्सवको उद्घाटन वा समापन कार्यक्रम, कुनै अवसरमा पनि  माइक, स्पिकर, आदि विद्युतीय उपकरणको प्रयोग गरिएन । नाट्यसामग्रीहरु सबै स्थानीय स्तरमा उपलब्ध सामानबाट बनाइएका थिए । मञ्च सजावटमा प्रयोग गरिएको मान्द्रो यहीँका स्थानीयवासीले बुनेका हुन् । आयोजक कलाकारहरुले मञ्चको भुइँ माटोले लिपेका हुन् । कतिसम्म भने, मञ्चको बीचमा रहेका राई आदिवासीहरुको ‘सुप्तुलुङ’जस्तो देखिने तीनवटा त्रिभुजाकार रुखहरुलाई जस्ताको त्यस्तै छोडिएको थियो । ती रुखहरुले मञ्चलाई थप आकर्षक बनाएका थिए।

चुलाचुली रंगमञ्चले ‘प्रकृतिको सत्सङ्गमा जाऔं, रंगकर्ममा रमाऔं र आफू स्वयमसँग संवाद गरौं’ भनिरहँदा दिनानुदिन गाउँ रित्तिंदै गएको र शहरको पेट फुल्दै गएको बेला एक्काइसौं शताब्दीका हाम्रा नानीहरु के भविष्यमा गाउँमै बस्लान् ? यो तय गर्नेछ राज्यको दूरदर्शिताले । तर घच्घच्याउने कामचाहिँ यो संस्थाले गरेको छ ।

एउटा नमिठो संयोग, गत मंगलबार जुन दिन यता इलामको चुलाचुलीमा पाठशाला नाट्य उत्सव सुरु भयो, त्यही दिन उता संघीय राजधानीको संसद भवनअघि इलामकै प्रेमप्रसाद आचार्य सन्तोषले आत्मदाह गरे । यता नाटक मञ्चन हुँदै थियो, उता सन्तोषको शरीर जलिरहेको थियो । आत्मदाह गर्नुको सम्पूर्ण कारण उल्लेख गर्दै उनले आमनेपालीका लागि एउटा लामो पत्र छोडेर गएका छन् । सन्तोषको आत्मदाह र त्यो पत्रले आज हामी सबैलाई विक्षिप्त र सोचमग्न बनाएको छ । आफ्नै देशमा, आफ्नै ठाउँमा केही गर्छु भन्ने संकल्प लिने अरु सन्तोषहरु कति होलान् यो देशमा ?

विश्वास छ, ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’मा एकाबिहानै पोखरीको किनारमा बसेर चित्रकला र नाट्यशाला प्रशिक्षण लिइरहेका नानीहरु, दिउँसो नाटकमा अभिनय गरिरहेका नानीहरु, आयोजक चुलाचुली रंगमञ्चका कलाकारहरु, स्थानीय बाँसले बनेको दर्शकदीर्घामा बसेर नाटक हेरिरहेका स-साना नानीहरु, कसैले पनि भविष्यमा राज्यको अकर्मण्यताप्रति आजित भएर आमनेपालीका नाममा पत्र लेख्दै आत्मदाह गर्नु नपरोस् !

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *