‘उप’ ताक्नेको लर्को !

२२ जनवरी, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान पुस १ गतेदेखि रिक्त छ अर्थात् पदाधिकारीविहीन छ । असोज २१ गते कुलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव जगत्प्रसाद उपाध्यायको चार वर्से कार्यकाल सकिएलगत्तै पुस १ गतेदेखि उपकुलपति डा. जगमान गुरुङसहित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, प्रा.डा. हेमनाथ पौडेल, प्रा. दिनेशराज पन्त, डा. देवी नेपाल, प्रा.डा. गोपीन्द्र पौडेल, माया ठकुरी र लक्ष्मी मालीलगायत २४ जना प्राज्ञ सभा सदस्यहरूसमेतको चार वर्से कार्यकाल सकिएपछि प्रज्ञाप्रतिष्ठान रिक्त बनेको हो ।

साहित्यकार सुलोचना मानन्धर ।

यसरी रिक्त रहेको प्रज्ञाप्रतिष्ठानमा नियुक्ति खानका लागि नेताहरूको घरदैलोमा आकांक्षीहरूको लर्को लाग्ने गरेको छ । यसमा सबैभन्दा लामो लर्कोचाहिँ ‘उप’ अर्थात् उपकुलपति पदका आकांक्षीहरूको रहेको छ । यस लर्कोमा एक कार्यकाल र दुई कार्यकालसमेत परिषद् सदस्यमा नियुक्ति खान भ्याइसकेकाहरू सबैभन्दा अगाडि रहेको बताइन्छ । यसमा यसअगाडिको परिषद्मा सदस्य रहिसकेका सुलोचना मानन्धर, नर्मदेश्वरी सत्याल, विष्णु प्रभात, निर्वतमान परिषद्का सदस्यहरू गोपीन्द्र पौडेल, लक्ष्मी माली, माया ठकुरी लगायत रहेका छन् ।

यसै गरी परिषद् सदस्यका लागि नयाँ आकांक्षीहरूमा घरदैलो अभियानलाई तीब्र बनाउनेमा पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष स्नेह सायमीले सबैलाई पछि पारेका छन् । सायमी केही वर्ष अगाडि एमाले प्रवेश गरेको बताइए पनि अहिले आफू माओवादीमै रहेको भन्दै माओवादी नेताहरूकोमा घरदैलो अभियान चलाइरहेका छन् । उनी आफ्नी श्रीमतीसमेत रहेकी लक्ष्मी मालीलाई उपकुलपति बनाउनु पर्ने त्यसो नभए आफूलाई सदस्य सचिव वा त्यो पनि नभए परिषद् सदस्यमा नियुक्ति दिएर काव्य विभागको जिम्मेवारी दिलाउनु पर्ने भन्दै अनुनय विनय गरिरहेको बताइन्छ । उनले केही समयअघिदेखि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिसलाई रिझाएर ओलीको प्रशस्तीमा कविता लेखेर सुनाउने गरेका छन् । अहिले एमाले नेताकहाँ जाँदा आफू एमालेमा लागेकाले माओवादीले सताउने गरेको भन्छन् भने माओवादी नेताकोमा पुग्दा आफूलाई बिना आधार एमाले गएको भनी आरोप लगाएको तर आफू सदाबहार माओवादीमै रहेको स्पस्टीकरण दिने गरेका छन् ।

सायमी निर्वमान प्राज्ञ पवरिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीका पति हुन् । उनले मालीको विभागबाट समकालीन नेपाल भाषाका कविता संकलन तथा सम्पादनको परियोेजना लिएका थिए । नेवारी भाषाबाट नेपालीमा अनुवाद गर्ने उक्त कार्यका लागि मालीले पति सायमीलाई ९० हजार निकासा दिलाएकी थिइन् । जबकी यस्तो परियोजनामा प्रज्ञाप्रतिष्ठानले ५० हजारभन्दा माथि दिएको पाइँदैन ।

यस्तै मालीले एक पटक मातृभाषा साहित्य गोष्ठीमा कार्यपत्र लेख्नका लागि आफ्नी छोरी अस्मिता मालीलाई लगाएकी थिइन् भने समीक्षकमा श्रीमान् सायमीलाई राखेकी थिइन् । उनले उनको विभागका अधिकांश काम माओवादी निकटलाई मात्रै दिएकी थिइन् भने विभागको सहकार्यमा राजधानीबाहिर हुने कार्यक्रममा पति सायमीलाई साथमै लगेर स्थानीय आयोजकलाई हैरानी दिने गरेकी थिइन् । उनले आफ्नो घरमा सहयोगी काम गर्ने एक जना युवालाई आफू करारमा कर्मचारी छनोट समितिमा हुँदा कार्यालय सहयोगीको जागिर लगाइदिएकी थिइन् । उनले पति सायमीलाई संस्कृति मन्त्रालयको पुरस्कार दिलाउन र प्रज्ञाप्रतिष्ठानको कविता महोत्सवमा निर्णायक सदस्यमा राख्न भूमिका खेलेकी थिइन् । माओवादी कोटाबाट प्राज्ञ परिषद्मा नियक्ति पाएका प्रा.डा. गोपीन्द्र पौडेलले पनि पदमा रहँदा आफूनिकट केही व्यक्तिलाई मात्रै परियोजना दिने गरेको प्रज्ञाप्रतिष्ठानका कर्मचारीहरू बताउँछन् । उता नेपाली लेखक संघमा आवद्धहरू पनि कांगे्रसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कारण आफूहरूले पनि प्रज्ञाप्रतिष्ठानमा भाग पाउनुपर्ने भन्दै लबिङ गरिरहेको बताइन्छ । यसै गरीअधिकांश निवर्तमान प्राज्ञ सभा सदस्यहरू पनि परिषद्मा जान इच्छुक देखिएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *