अरनिको स्मृति दिवस मनाउँदै विनेसाम

५ जनवरी, लन्डन । राष्ट्रिय विभूति तथा कलाकार अरनिकोको ७१६ औँ स्मृति दिवस भव्य रूपमा मनाउने भएको छ ।

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले यही जनवरी ७ (पुस २३ गते) शनिबार ७१६ औँ अरनिको स्मृति दिवस भव्य रूपमा मनाउने भएको हो ।

नेपाली भाषा, साहित्यको श्रीवृद्धि, उन्नयन हेतु विनेसाम केन्द्रीय समितिको देश तथा विदेशमा गरी ३९ शाखा र उपशाखाहरू क्रियाशिल छन् । निरन्तर विविध साहित्यिक गतिविधिहरू गर्दै आएको विनेसामले विश्वमा छरिएर रहेका नेपाली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य महासङ्घले राखेको बताएको छ ।

विनेसाम केन्द्रको वार्षिक प्रकाशन ‘साहित्य संसार’, विश्वमा छरिएर रहेका नेपाली साहित्यिक मनहरूलाई जोड्ने ई-पत्रिका ‘मूलबाटो’ प्रकाशन केन्द्रको हरेक तीनवर्षे कार्यकालमा नेपाली साहित्यको कुनै पनि विधामा विश्वस्तरीय प्रतियोगिताको आयोजना गरी, नेपाली उत्कृष्ट सिर्जनाहरूलाई अन्य भाषामा अनुवाद गरेर नेपाली वाङ्मयमा योगदान पुर्याउनुहुने विभूतिहरूको स्मृतिमा कार्यक्रमहरू आयोजना गरी विशेष रूपमा मनाउँदै आएको छ ।

देशमा प्राकृतिक विपत् पर्दा सकेको साथ-सहयोग गरेर साहित्यलाई परोपकारसँग जोड्ने अवसरबाट पनि विनेसाम चुकेको छैन । विगत तेह्र वर्षदेखि निरन्तर साहित्य सेवामा समर्पित भई थुप्रै साहित्यिक गतिविधिहरू गर्दै आएको यस संस्थाले अहिले सबैले रुचाइएको विधा गजलमा विश्वस्तरीय प्रतियोगिता गरिरहेको छ ।

नियमित रूपमा सिर्जना वाचन, हरेक अङ्ग्रेजी महिनाको पहिलो शनिवार विशेष संवाद “विम्ब र विमर्श” कार्यक्रम तथा नेपाली साहित्य, कला, संस्कृति तथा सम्पदासँग जोडिएका कुनैपनि अवसरहरूलाई विनेसामले विशेष रूपमा गर्दै आएको जनाएको छ ।विनेसामले गर्न लागेको कार्यक्रम ।

नेपालीको गौरव, सम्झनै पर्ने तर भुल्दै गइरहेका अरनिको स्मृति दिवस यसपटक भव्य रुपमा भर्चुअल माध्यम जुम मार्फत् जोड्ने अन्तिम तयारीमा जुटेको बताएको छ ।

स्मृति दिवसमा नेपाल प्रज्ञा-प्रतिष्ठानदेखि पूर्व-पश्चिमका प्राज्ञिक तथा वौद्धिक व्यक्तित्वहरू साथै नेपाल, भारत, बेलायत, अमेरिका लगायत विभिन्न देशका विश्वविद्यालयहरूबाट पनि प्राज्ञिक तथा वौद्धिक व्यक्तित्वहरूको सहभागिता रहने महासङ्घका विश्व केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू “परदेशी” ले जानकारी दिए ।

काे हुन् अरनिको ?
अरनिको उपनाम बलबाहू, आनिक आदि (सन् १२४५-१३०६) प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । पाटनमा जन्मेका यिनले राजा अभय मल्लको समयमा चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् ।

अरनिकोको जन्म पिता लाखाँना र माता सुमाखचीका सन्तानको रूपमा पाटन शहरमा भएको थियो । यिनले नेपालमा चयाथा नामकी विवाहित श्रीमतीलाई छोडेर चीन गएका थिए । चीनमा यिनले ९ वटा औपचारिक विवाह गरेका थिए जसमध्ये केही चीनका रजौटाका छोरीहरू पनि थिए ।अरू ल्याइले श्रीमतीहरू पनि थिए ।
चीनका तत्कालिन प्रभावशाली सम्राट कुब्ला खाँ का राजगुरू पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली शिल्पीहरूलाई चीन पुर्‍याएका थिए। यिनैले अरनिकोलाई सम्राट कुब्ला खाँ सँग भेट गराइदिएका थिए।

अरनिकोले निर्माण गरेको स्वेत चैत्य चीनको बेइजिङमा अहिले पनि पर्यटकको आकर्षणको रूपमा रहेको छ।

युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति-निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो- अरनिको । उनको वास्तविक् नाम् बलबाहु भएपनि अरनिको नामले विश्व प्रसिद्ध भए । अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए ।

वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए। उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको राम्रो ज्ञान भएको तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ। यिनले चीनमा प्यागोडा शैलीमा भव्य श्वेत प्यागोडाको निर्माण गरेका थिए । चीनमा उनलाई क्वान्ह्यु नाइफ र ‘नासथु’ उपाधी दिइएको थियो । चीनमा बादशाहले उनलाई ‘साङ्नु’ भन्ने दर्जा पनि दिइएको थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *