इमानसिङ चेम्जोङ जयन्ती विभिन्न ठाउँमा भव्य रूपमा मनाइयो, कियाचु इमानसिङ चेम्जोङ पुरस्कार निबन्धकार आङ्देम्बेलाई

१ जनवरी, पान्थर । इतिहासकार इमानसिङ चेम्जोङलाई १२० औँ जन्मजयन्तीका अवसरमा पूर्व लिम्बुवान क्षेत्र र सङ्घीय राजधानी काठमाडौँमा विविध कार्यक्रमहरूबीच स्मरण गरिएको छ । याक्थुङ एव्म् आदिवासी इतिहासकार, भाषाविद्, कोषकार, लोकसँस्कृतिविदका रूपमा रहेका चेम्जोङको कृतित्व र व्य्िरक्तत्वको चर्चा समेत भएको छ ।

इमानसिङ चेम्जोङ जयन्तीका अवसरमा आइतबार काठमाडौँमा जयन्ती तथा इमानसिङ चेम्जोङ पुरस्कार वितरण समारोह समेत राखिएको थियो । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वैरागी काइला(तिलविक्रम नेम्वाङ)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निबन्धकार निशेष आङ्देम्बलेलाई २५ हजार रूपैयाँ राशीको पुरस्कार हस्तान्तरण गरिएको थियो । उनलाई प्रमुख अतिथि काइलाले सम्मानपत्रसहित ‘थिक् निशेन्’ कृतिका लागि पुरस्कार दिइएको हो । गत डिसेम्बर २१ मा बसेको कियाचु नेपालको सचिवालय बैठकले १३ निबन्धहरू रहेको सङ्ग्रहलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । कियाचु संघीय कार्य समिति, नेवा ताम्सालिङ प्रदेश समिति, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला समितिहरूको संयुक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता कियाचु अध्यक्ष प्रेम येक्तेनले गरेका थिए । कार्यक्रम याक्थुङ युवा मञ्च काठमाडौँकी अध्यक्ष सङ्गीता सुहाङले गरेकी थिइन् ।

लिम्बुवानमा पनि चेम्जोङको स्मरण
यसैगरी, लिम्बुवानका जिल्लाहरूमा समेत इतिहासकार चेम्जोङको स्मरण गरिएको छ । पान्थरको फाक्तेपमा इमानसिङ चेम्जोङ शालिक संरक्षण समिति तथा फाक्तेप युथ क्लबको संयुक्त आयोजनामा तथा फाल्गुनन्द गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा जयन्ती मनाइएको छ । सो अवसरमा केलाङ प्रतियोगिता, याक्थुङ भाषामा कविता प्रतियोगिता र याक्थुङ नृत्य प्रतियोगिता गरिएको कवि एवम् रंगकर्मी बच्चु हिमांशुले जानकारी दिए ।

पान्थरकाे फाक्तेपमा भएको कार्यक्रमकाे एक झलक ।

त्यस्तै, तेह्रथुमको सदरमुकाम मियङलुङमा कियाचु तेह्रथुमले आयोजना गरेको जिल्लास्तरीय याक्थुङ भाषाको कविता प्रतियोगिता सम्पन्न भएको जिल्ला अध्यक्ष सेसेहाङ हुक्पा चोङवाङले जनाए । कियाचु लिम्बुवान प्रदेश उपाध्यक्ष टङ्कमाया तिगेलाको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगितामा मेन्छ्यायेम ६ का नरेन्द्र खापुङ प्रथम, मियङलुङ ९ का घनश्याम सावादेन द्वितीय र मियङलुङ ९ की विनीता सिरेङ तृतीय भएकी थिइन्् । उनीहरूले क्रमशः ५ हजार, तीन हजार र दुई हजार नगद पुरस्कारसहित प्रमाणपत्र हात पारे । कार्यक्रम अध्यक्ष चोङवाङको अध्यक्षतामा र सचिव राजकुमार तेयुङको सञ्चालनमा भएको थियो ।

यसैगरी, धरानमा समेत इतिहासकार चेम्जोङलाई अभियन्ताहरूले सम्झिएका छन् । कियाचु सुनसरी र थाक्थाकु माबोहाङ चेम्जोङ वंश उत्थान संघले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा संघीय उपाध्यक्ष डा. कमल तिगेला, सुनसरी अध्यक्ष मोहन हुक्पा चोङवाङ, सचिव ताजुव लिम्बु, सल्लाहकार हर्ष सुब्बा, चन्द्रमाया लिम्बु, चेम्जोङ वंशी समाजबाट सुमन चेम्जोङ, सागर सरगम चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

इतिहासकार चेम्जोङको जन्म सन् १९०४ जनवरी १ मा दार्जिलिङमा बुवा मेघवार सिङ चेम्जोङ र आमा देवापु हाङ्माको सन्तानका रूपमा भएको थियो । उनका पाँच सन्तानहरू रहेका छन् । उनको निधन सन् १९७५ मा भएको थियो । याक्थुङ लिम्बु, पूर्वका आदिवासी समुदाय र सिङ्गो जनजाति समुदायको इतिहास, भाषा, व्याकरणबारे दश पुस्तकहरू लेखेका उनले सन् १९६१ मा राजा महेन्द्र शाहका पालामा त्रिभुवन विश्वविद्यालयमा याक्थुङ लिम्बु विज्ञका रूपमा काम गरेका थिए । उनी ‘किराती भाषा तथा साहित्य विशेषज्ञ’ का हैसियतमा समेत पछि सक्रिय रहे । उनलाई कतिपयले ‘किरातोलोजिष्ट’ को पदवी समेत दिएका छन् । यद्यपि, अहिले किरातको पहिचानबारे याक्थुङ समुदायमा तीव्र बहस व्याप्त छ । चेम्जोङको धरान, भेडेटार, पान्थर, धनकुटा लगायतका विभिन्न ठाउँमा शालिकहरू निर्माण गरिएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *