आङ्देम्बेकाे कृतिलाई कियाचु इमानसिं चेम्जोङ पुरस्कार

२७ डिसेम्बर, ललितपुर । निबन्धकार निशेष आङ्देम्बेकाे कृति ‘थिक् निशेन्’ लाई कियाचु इमानसिं चेम्जोङ पुरस्कार दिइने भएको छ । आङ्देम्बेलाई जनवरी एकमा मनाइने १२० ओैँ इमानसिं चेम्जोङ जन्मजयन्तीका अवसर पारेर साे पुरस्कार दिइन लागेको हाे ।

गत डिसेम्बर २१ मा बसेकाे कियाचु नेपालकाे सचिवालय बैठकले आङ्देम्बेकाे कृतिलाई उत्कृष्ट ठहर गर्दै यस वर्ष ‘कियाचु इमानसिं चेम्जोङ पुरस्कार-२०५१‘ दिइने निर्णय गरेको महासचिव निरन्ती तुम्बापाेले विज्ञप्तिमार्फत जनाएकी छिन् । उनले जनवरी १ तारिख(पुस १७) मा ललितपुरस्थित चुम्लुङ हिममा आयोजना हुने समारोहमा पान्थरकाे मिक्लाजाेङ गाउँपालिका निवासी आङ्देम्बेलाई पुरस्कार दिइने बताइन् । आङ्देम्बे याक्थुङ भाषाका कवि एवम् निबन्धकार हुन् । उनी टेलिभिजनबाट प्रसारित हुने याक्थुङ भाषाकाे चर्चित कार्यक्रम ‘तुम्दङ’ का प्रस्ताेता पनि हुन् । उनी इन्डिजिनयस टेलिभिजनमा आबद्ध छन् ।

कियाचु जापानले प्रकाशित गरेको निबन्ध कृतिलाई जापाननिवासी याक्थुङ भाषाका प्रशिक्षक मुक्साम लाओतीले सम्पादन गरेका हुन् । कृति पुरस्कृत भएको खबरले खुसी व्यक्त गर्दै लेखेका छन्, ‘याक्थुङ भाषाका लेखक र सर्जकहरूलाई प्राेत्साहन गर्न र याक्थुङ भाषाकाे साहित्यमा कृति भण्डारण गर्न काम गरेका हाैँ । आङ्देम्बेकाे कृति पुरस्कृत हुने खबरले हामी जापानका चुम्लुङकर्मीहरू प्रसन्न छाैँ ।’ कृतिमा १३ निबन्धहरू सङ्कलित छन् । ‘थिक् निशेन्’ काे उल्था एक दृष्टान्त भन्ने हुन्छ । आङ्देम्बेका तीन कृतिहरू प्रकाशित छन् । पहिलो याक्थुङ कृति चाहिँ ‘हाङ्युक्ना पाङ्यक’ हाे ।

कियाचु जापानले यसअघि प्रकाशित गरेको साहित्यकार मलिसा याक्थुङ्वाकाे नियात्रा सङ्ग्रह ‘आयुक्ना’ ले भर्खरै कियाचु सिरिजङ्गा पुरस्कार हात पारेकाे थियोे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *