आसफाेर्ड चुम्लुङकाे चासाेक तङ्नाम सम्पन्न

२२ डिसेम्बर, आसफाेर्ड(केन्ट) । याक्थुङ लिम्बु समुदायको महान् पर्व चासाेक तङ्नाम बेलायतको आसफाेर्डमा भव्य रूपमा मनाइएको छ । डिसेम्बरकाे तेस्रो साता किरात याक्थुङ चुम्लुङ यूकेकाे आसफाेर्ड शाखाले चासाेक तङ्नाम मनाएकाे हाे ।

डिसेम्बर १८ तारिख आइतबारका दिन बिहीबारे हलमा आयाेजित कार्यक्रम शाखा अध्यक्ष साेदीप थाेप्राकाे अध्यक्षतामा भएको थियो । चक्रीय प्रणालीअनुसार यस वर्ष सत्यहाङ्मापन्थी विधिबाट चासाेक/चासाेत् पूजा गरिएको अध्यक्ष थाेप्राले जनाए । चासाेक पूजालाई सेवासाम्बा ज्ञानु फुरुम्वाेले सञ्चालन गरेका थिए । उनले चासाेक तङ्नाम र पूजाकाे महत्त्वबारे प्रकाश पनि पारे । अर्को वर्ष मा‌ैलिकतावादीहरूकाे विधिअनुसार फेदाङ्माले पूजा गर्नेछन् ।

गत सालहरूमाझैँ यसपटक समेत आफ्नै हातबाट बनाइएका मीठो हुक्वाहरू ल्याइएको उपाध्यक्ष काजी साम्यूले बताए । प्रत्येक तङ्नाममा चेलीबेटीहरूले याक्थुङजन्य खाद्य परिकारहरू ल्याउँदै आएका छन् । साे अवसरमा सहभागीहरूले हाक्पारे, पा:लाम र केलाङ प्रस्तुत गरेका थिए ।

तङ्नामकै अवसरमा कियाचुकाे सदस्यता नवीकरण कार्यक्रम पनि गरिएको काेषमध्यक्ष तुलवीर वनेम जानकारी दिए । करिब पाँच दर्जनले उक्त अवसरमा सदस्यता नवीकरण गरेका थिए । कियाचु यूकेकाे सदस्यता वार्षिक रूपमा नवीकरण गर्ने सदस्यहरू कियाचु कल्याणकारी काेषबाट आपतकालीन अवस्था या दु:खमा पर्दा लाभान्वित हुँदै आएकाे केन्द्रीय सदस्य टङ्क येङ्देनले जनाए । कार्यक्रममा कियाचु यूके पूर्व पदाधिकारी, सदस्यहरू देखि शाखामा आबद्ध पदाधिकारी सदस्य र साधारण सदस्यहरूकाे उल्लेख्य सहभागिता रहेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *