१ जनवरी, बिर्तामोड । कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार-२०८० द्वारा लेखक तथा साहित्यकार हरि हुक्पा चङबाङ पुरस्कृत भएका छन् ।
प्रजातन्त्र आन्दोलनका क्रान्तियोद्धा झापाबासी दिवंगत बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा(आङबुहाङ)को स्मृतिमा स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा(आङबुहाङ)स्मृति पुरस्कार-२०८० द्वारा पुस १६ गते तद्नुसार जनवरी १ मा चङबाङलाई पुरस्कृत गरिएको हो ।
जनवरी एक तारिखकाे अवसर पारेर किरात याक्थुङ चुम्लुङ झापा शाखाको आयोजनामा साहित्यकार तथा इतिहासकार इमानसिं चेम्जोङको १२१ ओैँ जन्मजयन्ती तथा गुञ्जमान सुब्बा(आङबुहाङ)स्मृति पुरस्कार वितरण समारोहमा चङबाङलाई सो पुरस्कार प्रदान गरिएको थियोे ।
लेखक तथा साहित्यकार चङबाङलाई समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा.कमल तिगेलाले नगदसहित पुरस्कृत प्रमाणपत्र प्रदान गरे । पुरस्कार चङबाङद्वारा लिखित दर्जनौं कृतिहरूमध्ये ‘संक्षिप्त हाक्पारे गीत’ अर्थात ‘चुक्मुक् हाक्पारे साम्लो’ लाई छनौट गरी प्रदान गरिएको हो ।
किरात याक्थुङ चुम्लुङ झापाबाट प्रत्येक वर्ष वितरण गरिने गरी स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा(आङबुहाङ) स्मृति पुरस्कार अक्षयकोषका लागि सुब्बाका बहिनीज्वाँई विर्तामोड नगर पालिका वडा नं. १ निवासी क्या.जगनधोज वनेम र बहिनी कृष्णकुमारी आङबुहाङ वनेमले रू १ लाख ५० हजार हस्तान्तरण गरे ।
समारोहमा प्रमुख अतिथि कियाचु संघीय उपाध्यक्ष कमल तिगेला, संघीय सदस्य इक्शा सम्बाहाङफे, पुरस्कृत व्यक्तित्व कियाचुका पूर्व केन्द्रीय उपाध्यक्ष हरि हुक्पा चङबाङ, गुञ्मान सुब्बाका स्मृतिग्रन्थका सम्पादक र लेखक बालचन्द्र आङबुहाङ्, जिल्ला सल्लाहकारद्वय क्या.जगनधोज वनेम, दुर्गा नेम्बाङ लगायतले साहित्यकार इमानसिं चेम्जोङ र गुञ्जमान सुब्बा (आङबुहाङ)को इतिहास, साहित्य र सामाजिक रूपान्तरणका सन्दर्भमा उनीहरूले गरेकाे योगदानको चर्चा गरे ।
झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बूको सभापतित्वमा सम्पन्न समारोहमा जिल्ला सदस्य तथा अभिभावक योगचन्द्र आङबुहाङले कार्यक्रमको ओैचित्यबारे मन्तव्य राखेका थिए । त्यस्तै, सहसचिव शर्ण लोवाले स्वागत मन्तव्य राखेका थिए ।जिल्ला चुम्लुङहिममा सम्पन्न समारोहको कार्यक्रम जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले सञ्चालन गरेका थिए ।