स्व. अमर नेम्बाङ स्मृति पुरस्कार साहित्यकार मुकारुङ र ओझालाई

२ फेब्रुअरी, पान्थर । अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यस वर्ष साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार प्रतिष्ठानले अग्रज साहित्यकारहरुलाई प्रदान गर्दै आएको छ । गतवर्ष यस पुरस्कारबाट लेखकद्वय शारदा सुब्बा र बिना थिङ पुरस्कृत भएका थिए । २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो ।

अमर नेम्बाङ लिम्बुको चौथो स्मृतिदिवसको अवसरमा प्रदान गर्न लागिएको सम्मान पुरस्कारसँगै आगलागी र पहिरो पीडितलाई राहत वितरण र गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण कार्यक्रम पनि आयोजना हुनेछन् । कार्यक्रम यही माघ २६ गते, बिहीबार फिदिम-१ स्थित होटल मनश्वी, बुद्धमार्गमा बिहान १०:३० बजे आयोजना हुने जानकारी प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले दिएका छन् ।

अमर नेम्बाङको परिचय:
अमर नेम्बाङ नेपाली साहित्यका एक विशिष्ट स्रष्टा हुन् । उनी पर्यावरणीय लेखनका अभियन्ता थिए । उनको संस्मरणात्मक निबन्धहरूको सँगालो ‘सम्झनाका तरेलीहरू’मा यस लेखनको उत्कृष्ट प्रयोग पाइन्छ । उनको सम्झनाको तरेलीसँगै ‘अमेरिका भ्रमणका केही सम्झनाहरू’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ कविता कृति प्रकाशित छन् । उनका दर्जनौँ लेख, संस्मरण, निबन्ध र कविता अप्रकाशित अवस्थामा छन् । नेम्बाङले पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका थिए ।

नेम्बाङको जन्म वि.सं.१९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बाबु नयेन्द्रराज (नरवीर) नेम्बाङ र आमा श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको कोखबाट माइला छोराको रूपमा भएको थियो । आफ्नै गाउँको सारताप स्कुलबाट अध्ययन सुरु गरेका नेम्बाङले सन्त रोबर्टस उच्चमावि दार्जिलिङबाट १९६१ मा हाइस्कुल पास गरेका थिए र सन्त जोसेफ कलेज नर्थप्वाइन्ट दार्जिलिङबाट १९६६ मा बिए सकेका थिए । १९६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका नेम्बाङ पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् ।

२०३३ सालमा जनपक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका नेम्बाङ पटकपटक तत्कालीन पौवासारतापमा नेकाको तर्फबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

नेम्बाङले स्थानीय तहबाट देशभरमा पहिलोपटक मातृभाषा शिक्षा पठनपाठनलाई आधारभूत तथा माध्यमिक विद्यालयमा सञ्चालन गरेका थिए ।

गाँउपालिकाको वडा नं ५ ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा २०७५ साल माघ २६ गते नेम्बाङको निधन भएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *