सन्दर्भ : कक्फेक्वा तङ्नाम
✍️ कृष्ण कुमार हेम्ब्या
याक्थुङ समुदायकाे चासोक (उद्यौली), कक्फेवा तङ्नाम (माघे संक्रान्ति), यक्वा तङ्नाम (उभौली) र सिसेक्पा तङ्नाम (सावने सक्रान्ति) प्रमुख मौलिक चाडहरू हुन् । नेपालमा अन्य समुदायले मनाउँदै आएका दशैं, दिपावली/तिहार (भाइ टीका), तीज, कुसे औँशी, नाग पञ्चमी, होलीजस्ता चाडपर्वहरुसँग याक्थुङ जातिको कुनै सांस्कृतिक सम्बन्ध छैन । यद्यपि तिहारमा भाइ टीका, गाई गोरु, काग कुकुर पूजाबाहेक बलिहाङको मिथकीय सान्दर्भिकतालाई जोडर लारिङ्गेक नाम्लिङ्गेक (देउसी भैलो) खेल्ने प्रचलन छ ।
मानव जातिको जीवन यात्रा लाखौं वर्ष पशुसरह रह्यो । ७० हजार वर्ष अघि सामन्य चेतना पलाएपछि पनि अर्को ६० हजार वर्ष हाम्रा पूर्खाहरु तेतिकै बरालिएर समय बिताए । १० हजार वर्ष पहिले खेतिपाती गर्न सिकेपछि मात्र मानव जाति पशुभन्दा फरक भएको मान्न सकिन्छ ।
उहिले हाम्रा पूर्खाहरुसँग मिति तिथि, दिन महिना हेर्ने लिखित क्यालेण्डर थिएन, नत समय हेर्ने घडी । कुन समयमा के काम गर्नु हुने/नहुने उनीहरु माथि खुला आकाशमा देखिने तारामण्डल, ग्रह खासगरी घाम जुनको हलचल, प्रकृतिमा देखिने बोटविरुवा फुलेको, पाउलो फेरेको, हावापानी मौसम परिवर्तन आदिले तिनका दैनिक काम र सारा जीवन पद्धतिका चक्रहरु चल्दथ्यो । जस्तैः अन्नबाली पाकेर पहेँलो भयो, माछाका हूल, चराचुरुङ्गीका बथान जाडो छल्न ओह्रालो झर्न थालेपछि जाडो मौसम सुरु भएको छनक मिल्दथ्यो । जाडो मौसममा खेतिपाती हुँदैन । वर्षा याममा परिश्रम गरेर पाकेका अन्नहरु लुकाएर राख्नपर्छ भन्ने चेतनाको उनिहरुमा विकास हुन थाल्यो ।
कृषि क्रान्तिले मानव जातिको विकास गतिले फड्को हान्यो । घरमा पशुपंक्षी राख्ने, अन्न उत्पादन, संकलन र भण्डारणले नीजि परिवार र नीजि सम्पतिको अवधारणा आयो । ठीक समयमा खानपिन, सुविधाजनक आवासले मान्छेको आयुसँगै चेतना बढ्न थाल्यो । ज्ञानविज्ञानको खोज र सफलतासँगै दैनिक कामकाजमा आवश्यक पर्ने हतियार र औजारको विकास । जीवन प्रकृतिसँग मिलाउन बार, दिन महिना, वर्ष, घडी अनेकौं संस्कृति निर्माण भए । समयसँगै तीव्र गतिमा जीवन यापनका नयाँ संस्कृति निर्माण हुँदै गएपनि उनीहरुले आफ्ना पूर्खाबाट सिकेका, जानेका अनेकौं सीप कलालाई बिर्सेनन् । मानव विकासका अनेक घटना क्रम र पूर्खा सम्मान गर्ने परम्परा नै आज हामी चाडपर्वका रूपमा मनाउँछौं ।
चासोक तङ्नाम, कक्फेवा तङ्नाम, यक्वा तङ्नाम र सिसेक्पा तङ्नामहरुमध्ये कक्फेवा तङ्नाम याक्थुङ समुदायको एक मौलिक चाड हो । कक्फेवा तङ्नाम याक्थुङहरु आफ्नो नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । यो नेपाली पात्रोमा माघ १ गते पर्दछ । यही दिनदेखि रात छोटो र दिन लामो सुरु हुने गर्दछ । सूर्यको रापताप बढेर मान्छेको जीवन सामन्यतर्फ फर्कन्छ । खेतबारीमा नयाँ अन्नबाली लगाउन उत्साह मिल्छ । मौसम परिवर्तनले सबैको मनमा एक किसिमको कक्फुङजस्तै सुन्दर र आकर्षण फुल्न थाल्छन् ।
जाडो मौसममा कमै फूल फुल्ने प्रकृतिक नियम हो । तर यो मौसममा आकर्षक कःक्फूङ (चाँपको फूल) फुलेर रमाइलो पारिदिन्छ । हाम्रा पूर्खाहरुले मौसम परिवर्तन कःक्फूङ फुल्दा समयलाई सम्झेर नै नयाँ वर्ष अर्थात कक्फेवा तङनाम मनाउन सुरु गर्न थालिएको मान्न सकिन्छ ।
कक्फेवा तङनाममा शरीरमा तापक्रम व्यवस्थापन गर्ने तरुल भ्याकुर खाइन्छ । चिसो मौसममा फल्ने तरुल मानव स्वास्थ्यका लागि बरदान हो । यही दिन काँचो वन तरुलको एउटा टुक्रा खाने र निधारमा काँचै तरुलको टीको लगाउने चलन छ । आगो आविष्कार हुनु पहिले पर्खाहरुले काँचै खाएको सम्झनाकाे विशेष दिन पनि हो ।
याक्थुङ समुदायमा कक्फेवा तङनाम जाँडरक्सी, मासु, सेली, तरुल खाएर मनाइन्छ । छरछिमेकमा खासगरी पाका सदस्यहरुलाई घरैमा तङ्वा अचारको हुक्वा पुर्याइन्छ । कक्फेवा तङ्नामले छोरीचेली आउनेजाने भेटघाटको साँस्कृतिक चाड पनि हो । याक्थुङ लाजेका विभिन्न ठाउँहरुमा मेलाबजार लाग्छ । आफ्नो संस्कृति जोगाउने माध्यमसरह मेलामा धान नाचेर मायाप्रेमदेखि यहीँ समयमा अत्यधिक विवाह पनि हुन्छन् ।
यो पर्वलाई थारुले (माघी) र मगरले पनि नयाँ वर्षको रूपमा मान्दछन् । हिन्दू समुदामा मकर संक्रान्तिको आफ्नै धार्मिक महत्व छ । खासगरी माघीमा थारु समुदायमा सांस्कृतिक, आर्थिक, सामाजिक महत्व बोकेको हुन्छ । थारु समुदायमा नयाँ लिडर नियुक्ति, छोरीचेलीलाई विशेष उपहार दिने, वर्षभर स्थानीय सामन्तका घरमा दासदासीका रूपमा काम गर्ने कमैया कमलरीहरुको सम्झाैता सकिएको दिनलगायत, दाजुभाई छुटिनेलगायत अनेकौं नयाँ कार्य योजनाहरु मघीकै दिन गरिन्छ ।
समयसँगै आजकल धेरै परिवर्तन भएका छन । हाम्रा मौलिक चाडहरु शहरमुखि हुँदैछन् । समग्रमा हामी चुम्लुङको कब्जामा नराम्ररी फस्दै गइरहेको अवस्था छ । हाम्रा मूल्यमान्यतहरू ब्यालेट बक्समा कैद हुंदै छन् । हामीले के गर्ने नगर्ने शहरवासी पैसावाल चुम्लुङका पञ्जीकृत सदस्यहरुले भोट हालेका एकल व्यक्तिले निर्धारण गर्छ । हामी लाचार छौं ।
सरल तरिकाले भन्दा, कक्फेवा तङनाम मान्छे बाच्नलाई आवश्यक पर्ने हाम्रा पूर्खाहरुले निर्माण गरेका ज्ञान, कला, सीप, संस्कृति संस्कारको विरासत हो । संस्कृति निर्माण एक दिन एक रात वा एकजनाले सम्भव छैन । धर्तीमा जन्मेका हरेक मान्छे जीवन रहेसम्म आफ्नो चेतना प्रयोगगरी नयाँ संस्कृति बनाउने प्रयत्न गर्छन् नै । संकृति निर्माण मञ्चमा बसेर खादा माला, ब्याच लगाउने अगुवा र चुम्लुङ अवार्ड पाउनेहरु मात्र हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।
(रेडिङनिवासी लेखक हेम्ब्या याक्थुङ सँस्कृतिका ज्ञाता हुन् ।)