भूपू गाेरखा सैनिककाे मागबारे बेलायत-नेपाल वार्ता

३ अक्टोबर, लन्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा नेपाल र बेलायत सरकारबीच पहिलो वार्ता सम्पन्न भएको छ ।

वेष्टमिन्स्टरस्थित बेलायतको रक्षा मन्त्रालयमा विहीबार बिहान  वार्ता शुरु भएको थियाे । वार्तामा नेपालका तर्फबाट बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार रहेका थिए ।

बेलायती पक्षबाट डिफेन्स पिपल, भेट्रान्स एण्ड सर्भिस फ्यामिलिज मन्त्री डा. आन्ड्रयू मोरिसनले नेतृत्व गरेका थिए । गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट मेजर रिटायर्ड जुदबहादुर गुरुङ, अनसनकारीद्वय धनबहादुर गुरुङ र पुष्पा घले राणा सहभागी भएका थिए ।

वार्तापछि नेपाली दुतावासकी प्रवक्ता उपनियोग प्रमुख रोशन खनालले पहिलो बैठकमा नेपालका तर्फबाट सबै कुराहरु राखेको र बेलायतका तर्फबाट वार्तामा नेतृत्व गर्ने मन्त्रीले आफू भर्खरै नियुक्त भएकाले सबै कुराहरुको अध्ययन गर्ने बताए । पहिलो वार्ता सकारात्मक भएको र नोभेम्बरको तेस्रो सातामा अर्को बैठकको मिति तोक्ने सहमति भएको खनालले जनाए ।

वार्तापछि रक्षा मन्त्रालयबाहिर भेला भएका गोरखाहरुलाई सम्बोधन गर्नै मेजर रिटायर्ड जुदबहादुर गुरुङले बेलायती पक्षले पेन्सनलगायतका विषयमा कुरा गर्न नचाहेको खाली वेलफेयरका बारेमा मात्र कुरा गर्न चाहेको तर आफूहरुले पेन्सनलगायत सबै विषयमा वार्ता गर्न माग गरेको बताए । नेपाली राजदुतले पनि गोरखाहरुको सबै विषयमा वार्ताका लागि बेलायती पक्षलाई अनुरोध गरिएको गुरुङले जानकारी दिए ।

त्यसपछि भने बेलायती पक्षको नेतृत्व गरेका मन्त्री मोरिसनले आफू नयाँ मन्त्री भएकोले यी विषयहरुमा अध्ययन गर्ने केही समय दिन अनुरोध गरेका थिए ।

बैठकमा अनसनकारीद्वय धनबहादुर गुरुङ र पुष्पा राणा घलेले गोरखाहरुको सबै विषयमा वार्ता नगर्ने हो भने आफूहरु आमरण अनसन बस्न तैयार रहेको बताएपछि बेलायती पक्षले आमरण अनसन नबस्न भनेको पनि घलेले भेला भएका गोरखाहरुलाई बताइन् ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति धर्मबहादुर तामाङले बेलायती पक्षले फेरि पनि पुरानै अडान दोहोर्याएको सुन्दा शुरुमा सकारात्मक नलागे पनि बैठकको निस्कर्षमा मन्त्रीले पुन सबै विषयहरुमा अध्ययन गर्ने, बुझ्ने बताएकाले केही आशावादी भएको बताए ।

अर्को वार्ता कहिले हुन्छ यकिन छैन । डिसेम्बरमा क्रिसमस र नयाँ वर्ष विदाका कारण जनवरी १५ पछि मात्र थप चरणका वार्ता हुने सम्भावना छ । मार्च २०२३ सम्म वार्ता निर्णायक हुनु पर्ने गोर्खाहरुको माग छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले वार्ता सुरु हुनु सकारात्मक भए पनि विगत जस्तो वर्षभरि वार्ता लम्ब्याइए त्यो मान्य नहुने प्रतिक्रिया दिए ।

‘हामीलाई पहिला पनि वार्ता वार्ता भनेर अल्मल्याइएको तीतो यथार्थबीच अब त्यस्तो ढिलाइ नहोस् भन्ने चाहन्छौं’, उनले कान्तिपुरसँग भने । यसअघि गत २२ मार्च २०१८ मा दुवै सरकार र गोर्खा प्रतिनिधिबीच चरणबद्ध वार्ता गरेर १३ बुँदे प्राविधिक प्रतिवेदन बुझाइएको थियो । तिनै माग पूरा हुनुपर्ने अडान भूतपूर्व गोर्खाहरुको छ ।

रिले अनशन हुँदै १३ दिनको भोक हड्ताल बसेपछि गत १९ अगस्ट २०२१ मा बेलायतले त्रिपक्षीय वार्ताका लागि लिखित प्रतिबद्धता व्यक्त गरेको थियो ।

यद्यपि गत वर्ष राजदूत परिवर्तन, त्यसपछि युक्रेन रुस युद्ध, महारानीको निधन, बेलायतमा सरकार परिवर्तन आदि कारण देखाउँदै भूतपूर्व गोर्खा वार्तामा विलम्ब भइरहेको थियो । ढिलाइका कारण गोर्खाहरु सशंकित थिए ।

आफूहरुको वार्तामा नेपाल सरकारले पनि पर्याप्त चासो नदेखाएको आरोप गोर्खाहरुले लगाउँदै आएका छन् ।

भूतपूर्व गोर्खाहरुको शान्तिपूर्ण प्रदर्शन
मन्त्रालयमा वार्ता भइरहँदा बाहिर भूतपूर्व गोर्खाहरुले झरीको पर्वाह नगरी दबाब स्वरुप शान्तिपूर्ण प्रदर्शन गरेका थिए । बिहान १०.४५ बजे ट्राफलगर स्क्वायरमा जम्मा भएर गोर्खाहरुले मार्च पास सुरु गरेका थिए ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति, गेसो र एनआरएनए यूकेको आह्वानमा प्रदर्शन भएको हो जसमा सयौं भूतपूर्व गोर्खा सहभागी भए । उनीहरु मफ्ती ड्रेस, सुट, रेजिमेन्टल टाई, मेडल, गोर्खा ह्याटजस्ता पहिरनमा सजिएर प्रदर्शनमा सहभागी भएका थिए ।

लन्डन । विहिवार बेलायतको रक्षा मन्त्रालयमा गोर्खा समस्या सम्बन्धि सरकार स्तरीय बार्ता चलिरहदाँ दवाव दिने उद्देश्यसहित गोर्खाहरुले गरेको शान्तिपूर्ण प्रर्दशनमा गैर‐आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पनि साथ दिदै ऐक्यवद्धता जनाएका छन ।

प्रदर्शनमा एनआरएनए यूकेकाे पनि साथ
बार्ता चलिरहँदा लन्डनको ट्राफलगर स्क्वायरमा जम्मा भएर गोर्खाहरुले गरेको मार्च पासमा गैर‐आवासीय नेपाली संघ (एनआरएनए)ले साथ दिदै ऐक्यवद्धता जनाएका हुन । शान्तिपुर्ण प्रर्दशनमा गैर‐आवासीय नेपाली संघ (एनआरएनए्) बेलायतका अध्यक्ष प्रेम गाहा मगर, उपाध्यक्ष विमला लिम्बु, महिला संयोजक मनिकला राई गुरुङ लगायतको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

ऐक्यबद्धता जनाउँदै एनआरएनए टिम ।

गोर्खाहरुको हक अधिकारको संघर्षमा एनआरएनएको पुर्ण रुपमा साथ सहयोग रहेको र भविष्यमा पनि रहने गैर‐आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बताए । आफु पनि गोर्खा भएको बताउदै अध्ययक्ष गाहा मगरले गोर्खाहरुको समानताको लडाईमा पुर्ण रुपमा साथ रहने पनि बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *